दोलखा जिल्लाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक कार्ययोजना अनुसार बेताली सेवाकेन्द्रको आयोजनामा श्री जनजागृत माध्यमिक विद्यालय गोकुलगंगा ४, बेतालीमा “विद्यालय शिक्षा कार्यक्रम” सञ्चालन गरेको छ ।
संस्थाका संचालक समिति सदस्य तथा उक्त सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक सिताराम कार्कीको अध्यक्षता र सो विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । वित्तीय साक्षरता अन्तर्गत सहकारीको परिचय, बचत तथा ऋणको महत्व, पैसाको प्रयोग, पारिवारिक बजेट, संस्थाको परिचय, संस्थाले प्रदान गरिरहेको विभिन्न सेवा सुविधा र विभिन्न प्रविधिहरुको बारेमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा बेताली सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्यहरू, संस्थाका सूचना प्रविधि अधिकृत नबराज दहाल, बेताली सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख भरतबहादुर बस्नेत सहित विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का कुल १३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता