शनिबार, आश्विन १७ गते २०८३

ठूलो रकम भुक्तानी गर्दा आरटिजीएस सेवा प्रयोग गर्न राष्ट्र बैंकको सुझाव


पौष १६, २०८१ मंगलबार
ठूलो रकम भुक्तानी गर्दा आरटिजीएस सेवा प्रयोग गर्न राष्ट्र बैंकको सुझाव


नेपाल राष्ट्र बैंकले ठूलो रकम भुक्तानी गर्दा आरटिजीएस सेवा प्रयोग गर्न सुझाव दिएको छ । वित्तीय सचेतनाका लागी एक सूचना जारी गर्दै बैंकले ९रियल टाइम ग्रस सेटलमेन्ट सेवा० आरटिजीएस एक फन्ड ट्रान्सफर प्रणाली जसमा एक बैंकबाट अर्को बैंकमा फन्ड ट्रान्सफर रियल टाइममा नै हुने जनाएको छ । यस्तो ट्रान्जेक्सनमा कुनै प्रकारको बन्डलिङ वा नेटिङ नगरी ट्रान्सफर सोझै ट्रान्सफर हुने गर्छ।

आरटिजीएस प्रणालीबाट दुई लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ । उक्त प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटिजीएस प्रणालीमा प्रविष्टि गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ । यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट आरटिजीएस कारोबार गर्न सकिन्छ ।

ठुलो रकमको कारोबार अन्य भुक्तानी उपकरणहरू जस्तै इसीसी वा आइपीएस बाट तत्कालै सम्बन्धित ग्राहकको खातामा जम्मा नभई केही समयको अन्तरालमा मात्र जम्मा हुन्छ भने आरटिजीएस  मार्फत गरिएका कारोबारहरू तत्काल नै सम्बन्धित ग्राहकको खातामा जम्मा हुने राष्ट्रबैंकले जनाएको छ ।