थाइल्याण्डको बैंककबाट दक्षिण कोरियाका लागि उडेको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे मा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ । १८१ यात्रु बोकेको जेजु एअरको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ८५ जनाको ज्यान गएको कोरियाली अग्नि नियन्त्रण सेवाले जनाएको छ।
विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको बताइएको छ । दक्षिण कोरियाको अग्नि नियन्त्रण निकायका अधिकारीहरूले अधिकांश यात्रुले ज्यान गुमाएको हुनसक्ने बताएका छन्।
केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको छ। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एअरको विमान दुर्घटनाग्रस्त भएपछि ८० भन्दा बढी अग्नि नियन्त्रक उद्धार कार्यमा जुटेका थिए । सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू प्रकाशित गरिरहेका छन्। चराहरूले अवतरण गराउने ल्यान्डिङ गियरमा समस्या निम्त्याएको हुनसक्ने आशंका गरिएको छ ।
नेपालपत्र संवाददाता