माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाले १५ दिने उद्घाेषण तालिमको आयोजना गरेको छ । उक्त तालिमको समापन कार्यक्रम संस्थाकी महिला समिति संयोजक अन्जु तण्डुकारको सभापतित्व तथा सहकारी केन्द्र नेपालको अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापाको विशेष आतिथ्यतामा भएको छ।
कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त अनुभव र सिकाइका विषयमा धारणा राख्दै महिलाहरूको नेतृत्व विकास र सहकारी क्षेत्रको सुदृढीकरणमा तालिमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। प्रशिक्षकका रूपमा वरिष्ठ प्रशिक्षक रोजिन शाक्यले सहभागीहरूलाई उद्घोषण कला, सार्वजनिक वाक्चातुर्य, र प्रभावकारी प्रस्तुति शैलीका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
सहकारीका अध्यक्ष लक्ष्मण महर्जनले सहकारीको संस्थागत विकास र महिला सशक्तीकरणमा यस्ता तालिमहरूको भूमिका अपरिहार्य भएको धारणा राख्दै आगामी दिनमा अझ बढी महिला लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार श्यामकृष्ण महर्जन र सुपरिवेक्षण समितिका संयोजक सुवर्ण शाक्य र व्यवस्थापक सुनिल महर्जन समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीसँग आबद्ध महिला समूहका करिब ३५ जना प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले उद्घोषण सम्बन्धी नयाँ सिप सिक्न पाउँदा खुशी व्यक्त गर्दै यस्तो अवसरले उनीहरूको आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
समापन समारोहमा प्रमुख अतिथि पार्वती थापाले सहकारी अभियानले समावेशिता र सामाजिक विकासमा पुर्याएको योगदानलाई प्रशंसा गर्दै महिलाहरूलाई सहकारीको नेतृत्व तहमा पुर्याउन अझ बढी प्रयास गर्नुपर्नेमा जोड दिइन्। साथै, उनले सहकारी केन्द्र नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गरिने प्रतिवद्धता व्यक्त गरिन्।
यो तालिमले सहभागीहरूको व्यक्तिगत तथा सामूहिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ। सहकारीद्वारा आयोजित यस्ता कार्यक्रमहरूले समाजमा महिला सशक्तीकरणको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रम संस्थाका कर्मचारि झरना रेग्मी र महिला समिति सदस्य शान्ति महर्जनले संचालन गरेको थियो ।

नेपालपत्र संवाददाता