मंगलबार, कार्तिक ११ गते २०८३

नेफ्स्कूनको ३३औं वार्षिक साधारण बुटवलमा सुरुः सहकारी मन्त्री अधिकारीले गरे उद्घाटन


पौष ५, २०८१ शुक्रबार
नेफ्स्कूनको ३३औं वार्षिक साधारण बुटवलमा सुरुः सहकारी मन्त्री अधिकारीले गरे  उद्घाटन


बुटवल, रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभाको उद्घाटन सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले  एक समारोहका बीच आज बिहान उद्घाटन गरेका हुन्  । औपचारिक उद्घाटन सँगै संघको ३३औं वार्षिक साधारण सभा पनि विधिवत् शुरु भएको छ ।

दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संघका महासचिव घनश्याम अधिकारीकाले गरेकन छन्। सभामा  नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा, रुपन्देहीस्थित विभिन्न स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको आतिथ्यता रहेको छ ।

सभामा संघकी उपाध्यक्ष शान्ती अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता छ । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो । 

२०८० पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा इन्द्रराजज्योति पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछिको यो पहिलो बार्षिक साधारणसभा हो । नेफ्स्कूनको नयाँ सञ्चालक समितिको पहिलो वार्षिक साधारणसभा नै काठमाडौं बाहिर आयोजना हुँदैछ । मुलुक संघीयतामा प्रवेश गरेसँगै विकेन्द्रीकरणको सिद्धान्तअनुरुप नेफ्स्कून सञ्चालक समितिले काठमाडौं बाहिर साधारण सभा गर्ने योजनासहित लुम्बिनी प्रदेशमा सहमति जनाएको हो । यसैगरी, लुम्बिनीमा पहिलो पटक नेफ्स्कूनको वार्षिक साधारण सभा आयोजना गरिएको हो । यसअघि नेफ्स्कूनले काठमाडौंबाहिर मोरङको लेटाङ तथा विराटनगर, बाँकेको नेपालगञ्ज, गोरखामा वार्षिक साधारण सभा आयोजना गरेको इतिहास छ ।