काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा एकातिर अधिक तरलताको अवस्था छ भने अर्कोतर्फ खराब कर्जाको मात्रा निरन्तर बढ्दै गएको छ । बैंक व्यवस्थापन पक्षका लागि यी दुइवटा प्रमुख चुनौति रहेको बैंकर्सहरूले जनाएका छन् । त्यसैगरी ऋण असुलीमा नियमित हुन सकेको छैन । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै नबुझाउने प्रवृत्ति बढ्दै गएको बैंकर्सको भनाइ छ ।
केहि वर्ष अघि बैंकिङ क्षेत्रमा १ प्रतिशतको हाराहारीमा रहेको एनपीए पछिल्लो समय ४ प्रतिशत माथि पुगेको छ । अर्थतन्त्रको शिथिलता कायम, निजी क्षेत्रको मनोबल बढ्न नसक्दा ब्याजदर निकै न्यून हुँदा पनि कर्जा लगानी र असुलीमा सुधार हुन सकेको छैन । विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो । बैंकहरुको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको चाप गैरबैंकिङ सम्पत्तिमा परेको बैंकर्सहरुको भनाइ छ ।
बैंकहरूमा करिब ७ खर्ब रूपैया निक्षेप पुगेको छ । तर कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्याङ्कअनुसार कर्जाको औसत ब्याजदर ९।०७ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा करि दुई खर्ब हाराहारीमा पनि कर्जा लगानी हुन सकेको छैन । खराब कर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्नु नै बैंकर्सहरूको प्रमुख चुनौति बनेको छ ।
थुप्रिएर बसेको सात खर्ब लगानीयोग्य पुँजी व्यवस्थापन गर्न नसके बैंकहरुमा समस्या आउनसक्ने बैंकर्सहरुले बताएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनका लागि बेवास्था गरेकोले पछिल्लो समय बैंकहरु कठिन अवस्थामा बाँचिरहेको बैंकर्स बताउँछन् ।
राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको उनीहरूले आरोप लगाएका छन् । बैंकले सीमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरु समस्यामा परेको बैंकर्सहरुको भनाइ थियो ।
नेपाल बैंकर्स संघका निर्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनिल केसीले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताउँछन् । बैंकहरुमा तरलतामा देखिएको असमानताले पनि बैंकहरुमा समस्या पारेको उनको जिकिर छ ।
अस्थिर राजनीति, अर्थतन्त्रमा आएको शिथिलता, बाह्य दबाब, कर्मचारीहरू बाहिरिने तथा विदेश पलायन जस्ता विषय बैंकिङ क्षेत्रमा ठुलो चुनौति देखापरेको उनले जनाए ।
यसैगरी, संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले पनि नेपालका बैंकहरु चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरु रहेको जनाउँछन् । तथ्याङकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझिए पनि आधारभूत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उनको दावी छ ।
बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरु रहेका भएपनि राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेट हुँदै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एशियाकै बलियो बनेको उनको भनाइ छ ।
नेपालपत्र संवाददाता