नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) को ३३ औ बार्षिक साधारण सभा आगामी पौष ५ र ६ गते लुम्बिनी प्रदेशको बुटवलमा हुन गइरहेको छ । अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न र प्रतिनिधिहरूलाइ नयाँपन दिने उदेश्यले लुम्बिनीमा बार्षिक साधारण सभा गर्न लागेको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवं साधारण सभाका संयोजक दामोदर अधिकारीले बताए ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष र पर्यटन वर्ष २०२५ संगै परेकोले आन्तिरक पर्यटन प्रवर्धनमा सहकारीहरूको योगदान होस् भनेर १६ वर्ष पछि उपत्यका बाहिर सभा गर्न लागिएको उनको भनाई छ । यसअघि पनि लेटाङ, बिराटनगर र नेपालगञ्जमा नेफ्स्कूनको साधारणसभा भएको उनले बताए । वार्षिक साधारण सभामा सदस्य संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागि भएर नेपालको बचत तथा ऋण अभियानलाई सही दिशानिर्देश गर्न उनकाे आग्रह छ ।
साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागि जनाउनुका साथै विषयविज्ञबाट नयाँ कुरा सिक्न समेत उनको अपील छ । यसपटकको साधारणसभा एतिहासिक हुने भन्दै उनले समयसीमाभित्र संस्था नवीकरण गरेर प्रतिनिधि छनौट गरी पठाउन सबैं संघसंस्थालाइ उनको आग्रह छ । नेफ्स्कूनको आसन्न साधारण सभाको तयारी र साकोस अभियानका विषयमा केन्द्रित रहेर बरिष्ठ उपाध्यक्ष अधिकारीसँग गरिएको कुराकानीः
नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभाको तयारी कहाँ पुग्यो ?
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को ३३औं वार्षिक साधारणको लागि मेरो संयोजकत्वमा एउटा तयारी समिति बनेको छ । हामीले आगामी पौष ५ र ६ गते लुम्बिनी प्रदेशको बुटवलमा साधारण सभा गर्ने निर्णय गरेका छौं । सोही अनुरुप स्थानीय तहमा समन्वयको काम नेफ्स्कुन व्यवस्थापनमार्फत् अगाडि बढाइएको छ । साधारण सभाको व्यवस्थापनको लागि रुपन्देही र नवलपरासी जिल्लाका ७ वटा साकोसका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा कार्यदल बनाइएको छ । आन्तरिक रुपमा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा रहेको व्यवस्थापनले प्रतिवेदन लगायतका आन्तरिक डकुमेन्टेशन तयारीको कार्य अगाडि बढाएको छ । संघमा आवद्ध सदस्य संघसंस्थालाई प्रतिनिधि मनोनयनको फारम भर्नको लागि पत्राचार गरिसकेका छौं । साधारण सभामा सहभागि हुने प्रतिनिधिहरुलाई सभास्थलमा सहज रुपमा आवतजावत गर्नका लागि यातायातको सहजीकरणकोे लागि हेल्प डेस्क बनाउँछौं । यसले गर्दा साधारणसभा प्रतिनिधिहरुलाई होटलमा जान आउन सहज हुने अपेक्षा हाम्रो छ ।
यो साधारण सभाले साकोस अभियानलाई मार्गनिर्देशन गर्ने कुनै ठोस योजना पनि छ कि ?
खासगरी नेफ्स्कुनले निर्वाचन हुँदाको बर्ष २ दिन र अन्य वर्ष १ दिन मात्र साधारणसभा गर्ने गरेको थियो । तर यस वर्ष हामीले २ दिन साधारण सभाको कार्यक्रम राखेका छौं । वार्षिक साधारण सभा भएकाले साकोस अभियानको निर्णयस्थल यो हो । यसले गर्ने निर्णयले नै भोलिका दिनमा नेपालको बचत तथा ऋण अभियानलाई दिशानिर्देश गर्नेछ । त्यसकारण साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागि हुनु हरेक संघसंस्थाको मुख्य कर्तव्य वा उत्तरदायित्व हुन आउँछ । साधारण सभामार्फत् नेफ्स्कुनको सञ्चालक समिति र लेखा समितिलाई मार्गनिर्देशन गर्ने हो । नेफ्स्कुनको आन्तरिक नीति र कार्यविधिहरु सदस्यमार्फत् स्वीकृत हुने गर्दछ । नेफ्स्कुनले बनाएको रणनीतिक योजना र वार्षिक योजनाहरु साधारण सभामा प्रत्येक प्रतिनिधिमार्फत अनुमोदन भएपछि मात्र कार्यान्वयन गरिन्छ । नेफ्स्कुनको आन्तरिक र बाह्य लेखा प्रणालीको लागि साधारण सभाले लेखापरीक्षक नियुक्ति गर्नुपर्नेहुन्छ । जसले संघको आन्तरिक लेखा प्रणालीलाई चुस्त राख्न र सुशासन प्रवद्र्धन गर्नको लागि सञ्चालक समितिलाई म्याण्डेट दिन्छ । सभा यी सबै कुराको निर्णायक स्थल भएको हुनाले सदस्य संघसंस्थाको व्यापक सहभागितामार्फत् निर्णयमा पुग्नु नै साधारण सभाको प्रमुख कर्तव्य हो ।
मुलुकभरको साकोस अभियानका प्रतिनिधि सधैंभरी भेला हुन कठीन हुन्छ । ठूलो संख्यामा जमघट हुन ठूलै कार्यक्रम आवश्यक पर्छ । सदस्य संस्थाहरुले आफ्ना प्रतिनिधिहरु सभास्थलसम्म पुग्न यातायात र बसोबासको प्रबन्ध मिलाउनुपर्ने भएपछि यसपटक हामीले केहि नयाँ कुरा सिकाउन दुइदिने सभा आयोजना गरेका हौं । सभास्थलसम्म पुगिसकेपछि बचतऋण सहकारी अभियानका अन्तर्राष्ट्रिय असल अभ्यास समेत सिक्ने व्यवस्था मिलाएका छौं । साधारण सभाको पहिलो आधा दिन उद्घाटन, सम्मान तथा पुरस्कारमा खर्चन्छौं भने सोहि दिनको दुई सत्र साकोस अभियानको सुशासन, प्रवद्र्धन र आन्तरिक नियन्त्रण प्रणालीको मजबुतीकरणमा प्रशिक्षण गराइनेछ । त्यसैगरी साकोस अभियानभित्रको प्रणाली र फिट एण्ड प्रोपर टेस्टको विषयमा विज्ञबाट कार्यपत्र प्रस्तुतिको व्यवस्था मिलाएका छौं । एउटा संकल्प प्रस्ताव पारित गरी त्यसमार्फत् साकोस अभियानलाई दिशानिर्देश गर्ने काम हामी गर्छौं ।
नेफ्स्कूनले यसपटक उपत्यकाभन्दा बाहिर साधारणसभाको आयोजना गरेको छ, लुम्बिनीमा जानुको विशेष उद्देश्य वा कारण केहि छ ?
नेफ्स्कुन नेपालको जेठो संघ हो । जुन बेलामा कानुन थिएन, त्यो बेलामा हाम्रा द्रष्टाहरुसँग दृष्टि थियो । नेपालमा सहकारीको लागि कानुन थिएन तर परिकल्पना भने थियो । उहाँहरुले ३६ वर्ष अगाडि संघको आवश्यकता परिकल्पना गर्नुभयो । ४५ सालमा नेफ्स्कुनको स्थापना भयो । सहकारी ऐन २०४८ र नियमावली २०४९ मा आयो । २०५० सालमा विधिवत् रुपमा नेफस्कुन दर्ता भयो । नेफ्स्कुनको इतिहास हेर्ने हो भने राजधानी बाहिर पनि हाम्रा साधारणसभा भएका छन् । लेटाङ, विराटनगर र नेपालगञ्जमा यसअघि सभा भएका थिए । यसपटक सदस्यहरुको सहभागिता, सिकाई, र अन्तर–सहकारिताको प्रगाढताको विषयलाई मजबुत बनाउनको लागि उपत्यका बाहिर साधारण सभा गर्न लागिएको हो । हाम्रो मुलुक आर्थिक, सामाजिक, साँस्कृतिक विविधताले भरिएको छ । भेषभुषा, जनजाति, बहुल दृष्टिकोण र विविधतापूर्ण सँस्कृतिले सुसज्जित देश भएको हुनाले भाइचारा, प्रेमिल बातावरण र सिकाई गर्नका लागि फरकफरक ठाउँमा साधारण सभा गर्ने गरेका छौं ।
अर्कोतर्फ मुलुक संघीय संरचनामा प्रवेश गरेको छ । राज्यले मुलुकलाई संघीयतामा लगिसकेपछि विभिन्न प्रदेशका वस्तुस्थितिबारे सिक्नुपर्छ भन्ने आवश्यकता ठान्यौं । अर्को तर्फ, संविधाले नै ३ खम्बे अर्थनीतिको एउटा बलियो खम्बा सहकारी भनेको छ । हामीले राज्यबाट पाउने संरक्षण कति पायौं, यो आफ्नै ठाउँमा छ । तर दायित्वबाट कहिल्यै भागेका छैनौं । अन्तर्राष्ट्रिय सहकारी वर्ष हालैमात्र नयाँ दिल्लीमा घोषणा भएको छ । नेपाल ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण स्थानमा छ । त्यसमा पनि हामीले लुम्बिनी रोजेका छौं । ऐतिहासिक दृष्टिकोणले शान्तिको प्रतीक मानिन्छ बुद्धको जन्मस्थल । अन्तर्राष्ट्रिय सहकारी वर्षको २०२५ घोषणा भएको र नेपालको बचतऋण सहकारी अभियानका लागि संकल्प प्रस्तावमार्फत् एक ढिक्का भई वर्तमान समयमा हामी माथि परेको बाछिटालाई संग्ल्याएर अगाडि बढ्ने हाम्रो लक्ष्य छ । जनताको पैसा साकोस अभियानमा सुरक्षित छ भन्ने कुराको प्रत्याभूति दिने उद्घोष गर्नपनि लुम्बिनीमा साधारणसभा गर्न लागिराखेका हौं ।
सरकारले २०२५ देखि भ्रमण वर्षको शुरुवात गर्दैछ । यो भ्रमण वर्षको पूर्वसन्ध्यामा लुम्बिनीमा साधारणसभा सम्पन्न हुन गइराखेको छ । यसकारणले यो वर्ष सबै साकोस अभियानका प्रतिनिधिहरुलाई सामुहिक सञ्जालिकरणको रुपमा विकास गर्दै साधारणसभामा आउने जाने क्रममा सहकारीका साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु पनि हाम्रो उदेश्य रहेको छ । सहकारीहरु स्तरीकरण कार्यक्रम अन्तर्गत एउटा क्लष्टरमा आवद्ध छन् । प्रोवेशनमा अर्को क्लष्टर र एक्सेस ब्राण्डको क्लष्टरमा आवद्ध छन् । यसर्थ क्लष्टर बेसका संस्थाहरुले सामुहिक व्यानर बनाएर जान र साधारण सभाको अघिपछि स्थानीय स्तरमा अवलोकन भ्रमणमार्फत् राज्यले लिएको पर्यटन प्रवद्र्धनलाई सामाजिक दायित्व अन्तर्गत अगाडि बढाउन आग्रह गर्दछु । लहडको भरमा नभई अत्यन्त दूरदृष्टि राखेर हामीले लुम्बिनीमा साधारण सभा गर्न लागेका हौं ।
साधारणसभामा सहभागी हुन सदस्य संस्थाहरुले कत्तिको उत्साह देखाएका छन् ?
हाम्रो संघको विनियम अनुसार साधारण सभा हुनुभन्दा अगाडि सञ्चालक समितिले तोकेको नीतिभित्र नविकरण भएका संस्थाको ५१ प्रतिशत उपस्थिति भएपछि साधारणसभाको गणपुरक संख्या पुग्छ । लुम्बिनीमा साधारणसभाको घोषणा भएसँगै सदस्य संस्थाले नविकरणमा देखाएको रेस्पोन्सबाट हामी अत्यन्त उत्साहित छौं । साधारणसभासँगै विज्ञहरुबाट प्रस्तुतिकरण समेत रहेकाले थप नयाँ कुरा सिक्ने अवसर भएकाले पनि सहभागिहरु उत्साहित छन् । साधारणसभासम्म पुग्न, बस्न र अन्तरक्रियालाई फलदायी बनाउन हाम्रोतर्फबाट आवश्यक सहजिकरण गर्छौं । उत्साहजनक सहभागिताकासाथ लुम्बिनीमा ३३औं साधारण सभा सम्पन्न हुन्छ भन्नेमा हामी ढुक्क छौं ।
साधारण सभा लुम्बिनीमा गर्ने घोषणा भएपछि तपाईं धेरै पटक त्यहाँ पुगिसक्नुभयो, स्थानीय तयारी के छ र नयाँ आकर्षण साधारणसभामा के देख्न पाइन्छ ?
हामीले जेजति तयारी गरेका छौं, त्यसले साधारणसभाको गरिमालाई थप उच्च बनाउने नै छ । मनोरञ्जनलाई बढी प्राथमिकता दियो भने साधारणसभाको सर्वोच्चता, निर्णय तथा दिशानिर्देशन गर्ने कुरा ओझेलमा पर्न सक्छ । साधारणसभामा सहभागितात्मक सहकार्यको दृष्टिकोणले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेका छौं । लुम्बिनी प्रदेशका स्थानीय तह, संघसंस्था र साकोस अभियानसँग सहकार्यका लागि अपिल गरेका छौं । उहाँहरुसँग निरन्तर संवादमार्फत् साधारणसभाको तयारी अगाडि बढाएका छौं । मूलभूत रुपमा साधारणसभा भएका कारण आन्तरिक पक्ष हामी आफैंले व्यवस्थापन गर्ने विषय हो ।
बचतऋण सहकारीले सदस्यलाई उद्यमशील र उत्पादनसँग कसरी जोडेका छन् भन्ने कुराको सांकेतिक रुपमा प्रस्तुति गर्न केहि स्टलहरु प्रदर्शनीमा राख्दैछौं । सहकारीको लक्ष्य भनेको आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय समृद्धि हो । त्यसकारण आर्थिक विषय हाम्रो प्रतिवेदनमा उल्लेख हुन्छ । सामाजिक र साँस्कृतिक पक्षलाई पनि हामीले त्यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । प्रतिनिधिमूलक ढंगबाट बचतऋण अभियानका सदस्यहरुले उत्पादन गरेका वस्तुहरु साधारण सभामा ती स्टलमार्फत सहभागि, अतिथि र पर्यवेक्षकलाई अवलोकन गराउँछौं । यो सिकाइको थलो पनि भएकाले साकोस अभियानका उत्कृष्ट प्रतिवदेन र क्याटलगहरु प्रदर्शनी कक्षमा राखेर, कसरी प्रतिवेदन र प्रडक्टका क्याटलग तयार गरिन्छ भन्ने कुरा सहभागीलाई देखाउँछौं । साधारणसभालाई सभामा मात्र सीमित नगरी सिकाईको थलो होस् भन्ने कुरामा हामीले ध्यान दिएका छौं ।
लुम्बिनी प्रदेशमा पनि विभिन्न जाति, भाषा र भेषभुषाका मानिसहरु बसोबास गर्छन् । एउटा साधारण सभामा सबै जाति र भेषभुषाको प्रस्तुतिकरण सम्भव छैन । तर सामाजिक साँस्कृतिक भेषभुषासहितको कार्यक्रम स्थानीय साकोसहरुको सहभागितामा गर्ने प्रयास हाम्रो छ । साँस्कृतिक प्रस्तुतिलाई पनि साकोस अभियानका सदस्यहरुबाट नै प्रस्तुत गर्ने र साधारण सभा सञ्चालनमा पनि नयाँपन ल्याउने जमर्को गरेका छौं । सभा प्रवेशस्थलमा नै प्रदेशमा साकोसहरुको केकस्तो ऐक्यवद्धता रहेछ भन्ने कुराको अनुभूति दिलाउन स्थानीय साकोसको सञ्चालक तथा व्यवस्थापन लागिरहेका छन् ।
यो सभाले नेपालको सहकारी अभियानमा नयाँ आयाम ल्याउन कत्तिको भूमिका खेल्छ ?
सहकारी संस्थाको निर्णायक तहमा बस्ने सबैले सुशासनको पालना गर्नैपर्छ । मैले सहकारीका विषयमा कहिँकतै पढाएँ भने गौतम बुद्धको फोटो देखाउने गर्छु । सहकारी अभियानको शीर्ष नेतृत्वमा रहेका व्यक्तिले गौतम बुद्धबाट नै सुशासनको विषयमा सिक्नुपर्छ । त्यसकारण संस्थाहरुले सुशासन प्रवद्र्धनका लागि सिक्ने थलो लुम्बिनी हुनसक्छ भनेर नै साधारण सभा गर्न लागिएको हो । गौतम बुद्ध राजाको छोेरा भएकाले सुखसुविधामा हुर्कनुभएको थियो । उहाँको बुबाले पनि छोराले सुखसयलमा नै जीवन बिताओस् भन्ने चाहनुहुन्थ्यो । तर गौतम बुद्धलाई मानिस किन दुखी छन्, मान्छे किन विरामी हुन्छन् र मर्छन भन्ने जस्ता कुराले पिरोल्थ्यो । व्यक्तिगत सम्पत्ति उपभोग गरेर सुखसयल प्राप्त गर्ने भन्दापनि आफूले गर्ने कामले अरुलाई सुखसयल प्राप्त होओस् भन्ने उहाँको चाहना थियो । यसर्थ सुशासन भनेको त्याग हो ।
निर्णायक तहका व्यक्ति ‘कन्फ्लिक्ट अफ् इन्ट्रेष्ट’ बाट बाहिर आउन सकेन भने सुशासन कायम गर्न सकिँदैन । साकोस अभियानमा लागेका व्यक्तिहरुले सुःखसयल भन्दा बाहिर आएर आम जनताले खाइनखाइ जम्मा गरेको बचतको सुरक्षाको प्रत्याभूति दिन हामी सक्षम छौं, यो अभियान सक्षम छ भन्ने संकल्प लुम्बिनीबाट गर्नुपर्छ । अहिले सुनियोजित ढंगले प्रवेश गरेका केहि व्यक्तिहरुको कारणले गर्दा यो क्षेत्रमा आशंका उत्पन्न भएको छ । दोषीलाई कारवाही हुनुपर्छ र राम्रो गर्नेलाई संरक्षण गरेर जानुपर्छ । राज्यले नीतिगत बातावरण तयार गरिदेओस् । हामी यो क्षेत्रलाई जोगाएर जान्छौं भन्ने सन्देश दिन लुम्बिनी पुगेका हौं ।
अन्त्यमा,
संघका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति, पूर्व अध्यक्ष, सल्लाहकार, प्रदेश सञ्जालमा रहेका सहकारी अभियन्ता र नेफ्स्कुनमा आवद्ध संघसंस्थाका सबै अध्यक्ष, व्यवस्थापक र प्रतिनिधिहरुसँग संघलाई बलियो बनाउन, तपाईंहरुको निर्णयात्मक सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु । सदस्यको प्रमुख दाियत्व निर्णयमा सहभागि हुनु हो । निर्णयमा सहभागि भइएन भने संघको निर्णय गर्नेहरुले बाटो बिराउन सक्छन् । त्यसकारण नेफ्स्कुनलाई खबरदारीपूर्ण समर्थन गर्न सबै संघसंस्थालाई सक्रियताकासाथ साधारणसभामा सहभागि हुनुहुन मेरो आग्रह छ । निर्धारित समयसीमाभित्र संस्था नविकरण गरी साधारणसभामा उत्साहजनक सहभागिता जनाउनुहुनेमा हाम्रो विश्वास छ । यसपटक ऐतिहासिक सहभागितामा साधारण सभा सम्पन्न हुनेछ । साधारण सभा टाढा भयो भन्ने भन्दापनि सहभागि भएर नयाँ कुरा सिक्न र आफ्नो रायसुझाव दिन मेरो आग्रह छ । साधारणसभामार्फत हामी माथि उठेका प्रश्नको एक ढिक्का भएर जवाफ दिन र साकोस अभियानको मार्गदर्शन तय गर्न आफ्नो कर्तव्य सम्झेर सहभागि हुन सबैमा हामी अपिल गर्छौं ।
नेपालपत्र संवाददाता