आइतबार, कार्तिक ९ गते २०८३

नवजीवन सहकारी संस्थाको एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न


मंसिर २१, २०८१ शुक्रबार
नवजीवन सहकारी संस्थाको एकाइगत  साधारण सभा टीकापुरमा सम्पन्न

नवजीवन सहकारी संस्थाको ३१ औँ वार्षिक साधारण सभा टीकापुरमा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि एकाइगत साधारण सभा गर्दै आएको छ । मंसिर १८ देखि २७ गतेसम्म एकाइगत साधरण सभा गरी मंसिर ३० गते निर्णय  प्रमानिकरण सभा गर्ने संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष देव बहादुर बमको अध्यक्ष उवं सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीका प्रमुख आतिथ्यतामा टीकापुरमा  एकाइगत सभा सम्पन्न भएको हो । सभामा बोल्दै मन्त्री चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए । मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लड्दा सहकारीले ऋण दिएको र सफल भएको बताए । 

संस्थाका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपैयाँ रहेको बताए ।संस्थाले गत असार मसान्तसम्म ५ अर्ब १ करोड बचत  संकलन  गरी  ४ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ । त्यस अवधिमा संस्थाले खुद मुनाफा १६ करोड ४१ लाख  गरेको छ । संस्थाको  भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित रहेको  छ । सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करिब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ । संस्थाको गत असार समान्तमा कुल सम्पत्ति ६ अर्ब २० करोड ३० लाख पुगेको छ ।

सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सभामा टीकापुर र जोशीपुर शाखाका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा जानकी गाउँपालिका वडा नम्बर ३ का भर्जु कठरिया, टीकापुरका नरबहादुर बम, भजनीका टीकाराम चौधरी, जोशीपुरका फूलकुमारी थारुलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तान प्रतिक साउद र विश्वास ढुंगानालाई पनि सम्मान गरिएको छ ।