नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० को संशोधन गर्दै आधिकारिक प्रतिनिधिले गर्ने कुल दैनिक कारोबारको सीमासम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले निर्धारण गर्न सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार आधिकारिक प्रतिनिधिको सम्पूर्ण कारोबारको विवरणसम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नुपर्ने छ । साथै, भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिहरूले गर्ने कारोबारको निगरानीको लागि कारोबारको संख्या, रकम, स्थान, प्रवृत्ति, वृद्धि आदिलाई विश्लेषण गरी त्रैमासिक प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्नुपर्ने जनाएको छ । साथै, अर्धवार्षिकरूपमा यस्तो प्रतिवेदन राष्ट्र बैंकमा समेत बुझाउनुपर्नेछ ।
भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक समितिबाट नीतिगत व्यवस्था गरी आधिकारिक प्रतिनिधि नियुक्त गरी भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न सक्ने छन् । आधिकारिक प्रतिनिधि भन्नाले राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधिलाइ बुझाउँदछ ।
आधिकारिक प्रतिनिधि नियुक्त गर्दा व्यवसायको प्रकृति, कारोबार गर्ने भौगोलिक क्षेत्रलगायतका विस्तृत व्यावसायिक तथा व्यक्तिगत विवरण, कम्पनी दर्ता तथा व्यवसाय दर्ताको अद्यावधिक प्रमाण, स्थायी लेखा नम्बर, संस्थापक तथा सञ्चालकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रमाणित प्रतिलिपि लिनुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायक संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधिले ग्राहकका वालेट वा प्रि९पेड कार्डजस्ता भुक्तानी उपकरणमा नगद जम्मा गर्ने वा भुक्तानी गर्नेछ । तर, आफ्नो बैंक खातामा वा भुक्तानी सेवा प्रदायकको बैंक खातामा नगद जम्मा गराई आफ्नो वालेट खर्च गरी बैंक खातामा वा ग्राहकबाहेक अन्य व्यक्तिको वालेट खातामा रकम जम्मा गर्न पाइने छैन ।
ग्राहकको तर्फबाट खानेपानी, बिजुली, इन्टरनेट, मोबाइल रिचार्जजस्ता सेवावापतको बिल भुक्तानी एवं सरकारी सेवावापतको शुल्क वा कर भुक्तानीको लागि सहजीकरण गर्ने र ग्राहकको वालेटको मौज्दात तथा कारोबारको विवरण प्रदान गर्न पाइनेछ ।
प्रचलित कानुनको पालना गरी सुरक्षित तवरले विद्युतीय ग्राहक विवरण लिने तथा उक्त विवरण अद्यावधिक गर्ने र रिमोट अनबोर्डिङ गरी ग्राहकको वालेट खाता खोलिदिने, यस बैंकले समय समयमा निर्देशन दिएका अन्य सेवाहरू प्रदान गर्नेछन् ।
यस्तो सेवा प्रदान गर्दा अनिवार्य रूपमा वालेट खाताको प्रयोग गर्नुपर्ने छ । आधिकारिक प्रतिनिधिले आफ्नो वालेटमा रकम जम्मा गर्दा अनिवार्य रूपमा बैंक खाताको प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । तर, सेवा प्रदान गर्दा सेवाग्राहीबाट कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन ।