चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० बाट नेपालले लाभ लिने उल्लेख गरे । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।
सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने समेत उल्लेख गरे।
नेपालपत्र संवाददाता