भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको नियमनको लागि अब बन्ने दोस्रो तहको नियामक निकाय मन्त्रालय मातहत नै रहने बताएका छन् । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको ‘समसामयिक अड्चन र निकास विषयक’ प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले त्यसको लागि प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए ।
मन्त्री अधिकारीले सहकारीलाई पनि अहिले कै कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोषमा जोडेर लैजाने सहमति भएको बताए । सहकारीको समस्यामा सरकारले चासो देखाएको भन्दै मन्त्री अधिकारीले प्रधानमन्त्री कार्यालयमा एउटा समिति बनाएको र उक्त समितिले काम समेत गरिरहेको जनाए । सहकारीका मुद्धालाई एकीकृत गर्न आवश्यक रहेको भन्दै उनले त्यो हुन नसके स्वार्थ बाझिने र समस्या समाधान नहुने प्रष्ट पारे । सहकारीमा ऋण लिने दिने कुराले पनि समस्या सृजना गरेको भन्दै उनले सदस्यले संस्थामा राखेको धितो अन्य संघ /संस्थामा धितो राख्दा सदस्यहरु थप मारमा परेको जनाए । सदस्यको धितोलाई अन्य संघ /संस्थामा धितो राखी ठुलो ऋण लिने तर समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा सदस्यको धितो लिलाम हुने गरेको गुनासा आफु कँहा आउने गरेको उनले सुनाए ।
सहकारी बैंक र नेफस्कूनले जमानत लिदा सदस्य नडुब्ने उपायको विषयमा गम्भिर रुपमा छलफल गर्न उनको सुझाव छ । सहकारी ऐन नियम संशोधनको विषयमा छलफल चली रहेको र तेस्रो पक्ष मर्कामा परेको गुनासाहरु आइरहेकाले यो विषयमा गम्भिर हुन उनको आग्रह छ । ‘हामीले नीति, नियम, विधि, परिधि र कानून सबै बनाउछौं । तर त्यो बनाएर मात्र हुदैँन् । व्यवहारमा कति लागू गर्छौ र आफ्नो कर्तव्यलाई कति पूरा गरेका हुन्छौ, अनुशासनभित्र छौं कि छैनौ भन्ने मुख्य विषयको अध्ययन हुनुपर्छ । सहकारी ऐन २०७४ मा आयो त्यो ऐनभित्र रहेर काम गरेको भए यस्तो समस्या आउने थिएन् । कतै न कतैबाट उल्लंघन भयो र त्यसैको कारणले समस्याहरु देखा परेको हो । त्यसैले जिम्मेवारी के हो, सहकारीको उद्देश्य के हो त्यस अन्तरगत जाने कुरामा कति प्रतिबद्ध छौ, त्यो हेर्नुपर्छ ।’
यस्तै, उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउनुपर्ने भन्दै सहकारीप्रति जुन भ्रम फिजाइएको छ त्यसलाई हटाउन आवश्यक भएको बताए । उनले भने, ‘विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना गर्नुपर्छ । अहिले सहकारीप्रति जुन भ्रम फिजाइएको छ, यसलाई हामीले सहकारी सहि हो भनेर प्रमाण गर्न अझै बढि लाग्नुपर्ने हुन्छ । सन्देशमूलक तरिकाबाट सबै जनताको बीचमा पु¥याउन जरुरी छ । त्यसकारण हामीले पहिला यतातिर ध्यान दिन जरुरी छ । यसबाट सहकारीमा देखिएका समस्या धेरै मात्रामा हल हुन्छ । हाम्रो प्रचारमा नै कमि भएको छ ।’
नेपालपत्र संवाददाता