नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामार्फत कुनै पनि व्यवस्थामा परिवर्तन नगरी सजगतापूर्ण लचिलो कार्यदिशालाई नै निरन्तरता दिइएको बताएको छ।
अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति एवं क्षतिग्रस्त आयोजनाको पुनस् निर्माणलगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अनुमान गरेको छ ।
यस्तै, गत असोजमा आएको अतिभारी वर्षा र बाढीबाट करिब ४६ रुपैयाँ अर्बको आर्थिक क्षति भएको र सरकारले सडकमार्ग लगायतका पूर्वाधारको मर्मत तथा प्राकृतिक विपत्तिपछिको पुनस् निर्माणका लागि उल्लेख्य खर्च गर्नुपर्ने भएकोले सार्वजनिक वित्त व्यवस्थापनमा केही चाप पर्ने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३।०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६।५ प्रतिशतमा यथावत राखेको छ ।
त्यसैगरी राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्वकायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्नगई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ५।० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४।२६ प्रतिशत रहेको छ । २०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७।१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३।४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।८२ प्रतिशत रहेको छ ।
कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।