शुक्रबार, कार्तिक ७ गते २०८३

निःशब्द

मंसिर १३, २०८१ बिहीबार
निःशब्द

यो उकुसमुकुसबाट फुत्किएर
आर्यघाटमा जब नजर रोकियो
श्वेतांबरधारी पिताम्बरधारी
आफ्नो भागको मानो सबै स्वाहा पारी
अनन्त यात्रामा निस्केका पथिकसँग
मन जोडेर बस्ने मन भो। 

छाति ढक्क फुल्यो
सायद मनले सबै कुरो भुल्यो
यी जानेहरूको गति मेरो बेग भन्दा बढी छ
तैपनि यी सँगसँगै हिड्ने मन भो
टोलाईरहें कलकल गर्ने बागमतीतिर
जो हरक्षण मान्छेको अन्त्यको साक्षी छ
चिता दर्जन बोकेर । 

कोही ब्रह्मनालमा लम्पसार
कोही चिताका सृङ्गार
न कोही आफ्नो न पराई, न तेरो न मेरो
एक आकार क्षणभरमै निराकार भो
अघि सम्मको अहंकार अहिले जलेर राख भो। 

अनि म कल्पिन थालें
के काम छ यो आवेगको
एकदिन खरानी हुने न हो
मेरो पनि त यात्रा यही  हो
न लिनु छ केही न दिनु नै छ
मेरा पौरख जति सबै भ्रम मात्र न हो
अनि म अडिएँ
मुटु ढक्क बज्यो 
सायद अब केही बाँकी रहेन
अनि म भएँ
निःशब्द।