काठमाडाैं । नेपालगञ्जमा मुख्य कार्यालय रहेर सञ्चालन भइरहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड समस्याउन्मुख देखिएको भन्दै नेपाल राष्ट्र बैंकले थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह विस्तारमा रोक लगाएको छ ।
नेपाल राष्ट्र बैंकले ०२८१ साउन ५ देखि ११ गतेसम्म कर्णाली डेभलपमेन्ट बैंकको लक्षित निरिक्षण गरेको थियो । सो निरिक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।
एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख देखिएकोले २०८१ मंसीर ११ गतेदेखि लागु हुने गरी सो बैंकले निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न नपाउने गरी रोक लगाएको छ ।
राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, “निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयां व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”
नेपालपत्र संवाददाता