मंगलबार, कार्तिक ११ गते २०८३

ज्योति मिर्मिरे सामुहिक साकोसको अध्यक्षमा सापकोटा ,सदस्यको हितमा काम गर्ने प्रतिवद्धता


मंसिर ९, २०८१ आइतबार
ज्योति मिर्मिरे सामुहिक साकोसको अध्यक्षमा सापकोटा ,सदस्यको हितमा काम गर्ने प्रतिवद्धता


ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले मंसिर १ गतेदेखि क्षेत्रगत  रुपमा साधारण सभाको आयोजना गरी हिजो समापन गरेको हो । साधारण सभाले  उद्धवप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति  निर्वाचित  गरेको छ  ।   साधारण सभाले आगामी चार वर्षका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा कान्छीमैया थापा कार्की, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर निर्विरोध भएका छन् । महिला सदस्यहरुमा शोभा हाडा, पवित्रा सापकोटा, मनिला केसी निर्विरोध भएका छन् । संचालकहरुमा भुगोलतर्फ शिवराज श्रेष्ठ पाँचखाल, सरिता गिरी धुलिखेल, सविता बज्राचार्य बनेपा, लोकेन्द्रकुमार सापकोटा पनौती, भिमप्रसाद बञ्जारा पनौती, उमा थापा पनौती, सुर्यकुमारी तामाङ पनौती, रामप्रसाद तिमल्सिना बेथान्चोक रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी र सदस्यहरुमा कुमार बस्नेत र राजुप्रसाद तिमल्सिना सदस्य रहेका छन् ।

नब निर्वाचित अध्यक्ष सापकोटाले सहकारीलाई समुदायमा आधारित, सदस्य केन्द्रीत र  सुशासनमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । मुलुककै नमुना संस्था बनाउने उदेश्यका साथ आफुहरु लागेको भन्दै उनले दिगो उत्कृष्ट वित्तीय सहकारी बनाउने लक्ष्य लिएको जनाए । संस्थाले ५ बर्षे रणनीतिक योजना बनाएको र त्यस अवधिमा ३५ हजार  सदस्य र ६७ करोड माथीको कुल सम्पत्ति पुन्याउने लक्ष्य लिएको उनले जनाकारी दिए । संस्थाले बचत ऋणको मात्र कारोबार नगरी सामाजिक कार्य पनि गर्दै आएको र सदस्यहरुको ऋण बीमा गरेको जानकारी दिदै उनले गत बर्ष ९८ लाख ऋण बापतको रकम  सदस्यलाई उपलब्ध गराएको उनले जनाए । सदस्यहरुलाई गर्वदेखि स्वर्गसम्म सहयोग गर्दै आएको र सदस्यको मृत्यु हुँदा १ लाख ५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको सापकोटाको भनाई छ । सदस्यलाई उद्यमशीलतामा जोड्ने र आर्थिक रुपमा समृद्धि बनाउने काम पनि संस्था अगाडि रहेको उनले बताए । सहकारीको मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्ने त्यस भन्दा बाहिर गएर संस्था सञ्चालन नगर्ने उनको प्रतिवद्धता छ । सदस्यको हितलाई पहिलो प्राथमिकता दिएर नयाँ सञ्चालक समितिले   काम गर्ने उनले जनाए । 

संस्थामा १८ हजार ३ सय २६ सदस्य रहेका छन् । जस मध्ये ९ हजार १ सय ९९ पुरुष, ९ हजार १ सय ३ महिला, ३५ संस्थागत रहेका छन् । संस्थामा १ हजार ७ सय २५ जना बाल बचतकर्ता छन् । संस्थाको १२ करोड ३१ लाख ८ हजार ७ सय रुपैयाँ शेयर पुँजी, ९५ करोड १० लाख ६० हजार १ सय ७८ बचत, ९२ करोड ६२ लाख ६१ हजार १ सय ४१ रुपैयाँ ऋण लगानी रहेको छ । 

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले  उमेर, समुह र भुगोलका साथै महिलालाई समेत समेटेर नयााँ सञ्चालक समिति चयन भएको बताए । संस्थाप्रति सदस्यको आकर्षण बढेर गएको भन्दै उनले अवसरसँगै चुनौती पनि रहेकाले सबै पक्ष मिलेर अगाडि बढ्न आवश्यक रहेको जनाए । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था  र  युवा स्वालम्बन वहुउद्धेश्यीय सहकारी संस्थाबीच एकीकरण भएको छ ।