१. *बुवा*
ओ बुवा, ती आँखा कति गम्भीर,
तपाईंको मौनता, मेरो जग, मेरो अधीर।
तुफान अघि ढाल बनी उभिनुहुन्थ्यो,
सधैं उज्यालो तारा झैं बाँच्नुहुन्थ्यो।
तपाईंको शक्ति र ज्ञानको सिको,
जीवनको पाठ, साँचो धर्मको लेखो।
तपाईंको याद, समयको मिठो गीत,
सधैं मेरो हृदयमा गुञ्जन्छ संगीत।
---
२. *आमा*
ओ आमा, तिम्रा हातको स्पर्श पवित्र,
तिम्रो माया, मेरो जीवनको मन्त्र।
त्यो न्यानो आलिंगन, त्यो गहिरो भावना,
तिमी बिना हराउँछ जीवनको मोहना।
आँसु भित्र लुकेको तिम्रो माया,
तिम्रो आशीर्वादले बन्छ संसारको छाया।
मृत्युपछाडिको जीवनको पथ,
आमा तिमी सधैं मेरो आत्माको शक्ति।
---
३. *समय*
समय, तिमी कहिल्यै नरोकिने बग्ने धारा,
जीवनको पानामा लेख्छौ अनगिन्ती कारा।
तिम्रो यात्रा, हाम्रो कथाको सन्दर्भ,
हामी छौँ तिम्रै मुनि, सधैं रहन्छ तिम्रो गर्भ।
तिमी कठोर, तिमी मधुर, दुवै हौं,
समय, तिमीले नै जीवनलाई अर्थ दिन्छौं।
तिमी भित्र बाँच्नु छ हामीलाई सधैं,
अनि तिम्रै गाथाले बन्छ भविष्यको रङ।
---
४. *नदी*
ओ नदी, तिम्रो शान्ति, तिम्रो बग्ने कला,
तिमीले बाँध्न सक्छौं आकाश र धरा।
पानीको आवाज, तिम्रो सन्देश बोल्छ,
जीवनको गहिराइ, तिम्रो धारा खोल्छ।
जिन्दगीका रहस्य तिम्रै धारामा भेटिन्छन्,
तिमीमा अनन्तताको गीतले प्रतिध्वनि गर्छ।
तिमी बग, सागरको काखमा मिल्न,
तिम्रो यात्रा कहिल्यै रोकिँदैन।
५. *सपना*
सपना, जीवनको उज्यालो रङ,
निद्राको गहिराइमा तिमी बन्छौ संग।
तिम्रो संकेतले भविष्य देखाउँछ,
जीवनका कठिन पथहरू सहज बनाउँछ।
ओ सपनाहरू, तिमी सधैं जिउँदो रह,
जसले हाम्रो हृदयमा चमत्कारको गह।
तिम्रो उज्यालोले जीवन रंगिन्छ,
तिम्रो प्रेरणाले नै आत्मा चम्किन्छ।
---
सिर्जनः खातिरा फराज्ली, अजरबैजानी कवि एवं सांस्कृतिक अभियन्ता ।
---
अनुवाद: कवि सन्तोष कुमार पोखरेल, नेपाल ।
---
खातिरा फराज्ली (फराजोभा खातिरा नजफ) को जन्म फेब्रुअरी १२, १९६६ मा अजरबैजानको यार्दिम्लीमा भएको हो। उनले डागेस्टान स्टेट पेडागोजिकल युनिभर्सिटीको साहित्य विभागबाट स्नातक गरेका छन्। साथै, उनले औषधिशास्त्र र पत्रकारितामा पनि अध्ययन गरेकी छिन्। २००२ देखि अजरबैजान लेखक संघ (AYB) को सदस्य रहेकी फराज्लीले अजरबैजानी साहित्यमा दशकौंसम्म योगदान पुर्याएकी छन्।
उनको साहित्यिक कृतिहरूले अजरबैजानको समृद्ध संस्कृति, विरासत र देशभक्तिलाई उजागर गर्छन्। बहुसांस्कृतिक संवादलाई प्रवर्द्धन गर्दै र अजरबैजानी साहित्यलाई विश्वव्यापी स्तरमा पुर्याउन उनको ठूलो भूमिका छ। उनले “जरिफ” महिला साहित्य सभा र “सांस्कृतिक विकास प्रवर्द्धन” सार्वजनिक संघजस्ता धेरै साहित्यिक र सांस्कृतिक संस्थाहरूको अध्यक्षको रूपमा अजरबैजानी लेखकहरूको अन्तर्राष्ट्रिय पहिचान बढाउन धेरै कार्यक्रमहरू आयोजना गरेकी छन्।
उनका कविता र लेखहरू टर्की, जर्मनी, रूस, नेपाल लगायतका देशहरूको प्रकाशनमा व्यापक रूपमा प्रकाशित भएका छन्। साहित्यमा उनको योगदानको सम्मानस्वरूप उनलाई रसूल हमजातोभ शताब्दी निबन्ध पुरस्कार र "द वर्ल्ड बिगिन्स विथ फ्यामिली" प्रतियोगिताजस्ता पुरस्कारहरूले सम्मानित गरिएको छ। उनले अजरबैजानी साहित्यलाई उजागर गर्ने अनेकौं कृतिहरू, विशेष गरी कराबाख र शुशाजस्ता देशभक्ति विषयमा आधारित एल्मानेकहरू प्रकाशनमा मुख्य भूमिका निर्वाह गरेकी छन्।
फराज्लीले लेखनभन्दा परका क्षेत्रमा पनि योगदान पुर्याएकी छन्। उनले धेरै पुस्तकहरू सम्पादन गरेकी छन् र युवा लेखकहरूलाई मार्गदर्शन गरेकी छन्। सांस्कृतिक संरक्षणका लागि उनले "हाम्रो शब्दलाई चिनाऔँ" जस्ता परियोजनाहरू सञ्चालन गरेकी छन्, जसले अजरबैजानी साहित्यलाई युरोपेली संस्थाहरूमा प्रवर्द्धन गर्दछ। साथै, "क्षेत्रहरूमा साहित्य" कार्यक्रममार्फत ग्रामीण अजरबैजानमा साहित्यिक गतिविधिहरूलाई प्रोत्साहन गरेकी छन्।
समीक्षक र समकालीनहरूले उनको कविताको कोमल भावना र गहिरो इमानदारीको प्रशंसा गरेका छन्। "कोमल भावनाको कवि" (वागिफ युसिफ्ली) र "खातिरा फराज्लीको रचनात्मकताको काव्यिक अभिव्यक्ति" (हिकमेत मलिकजादे) जस्ता लेख र पुस्तकहरूले उनको प्रभावलाई उजागर गरेका छन्। देशभक्ति र सांस्कृतिक समृद्धिको लागि उनको योगदानको माध्यमबाट खातिरा फराज्ली अजरबैजानी साहित्यमा एक महत्त्वपूर्ण व्यक्तित्व र यसको विश्वव्यापी मान्यता दिलाउन एक समर्पित अभियन्ता बनेकी छन्।