नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रभात तामाङ, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यता रहेको थियो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव गोविन्द प्रसाद काफ्ले, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक हेमबहादुर कार्की, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष सिमा पुरी लगायतको आतिथ्यता रहेका थियो । सभामा
अध्यक्षको मन्तव्य राख्दै अमात्यले ‘ नेचुरल सहकारीको पहिचान उद्यमशिलता विकासको अभियान’ भन्ने मुल नाराका साथ संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरेर वित्तीय कारोबार गर्दै आएको बताइन् । संस्थाले सदस्यहरुको आर्थिक,सामाजिक, सास्कृतिक तथा पर्यावरणीय विकासलाई प्राथमिकतामा राखी वित्तीय कारोबार गर्दै आएको उनले जानकारी दिइन् । नीति,विधि र प्रविधिलाई प्राथमिकतामा राखी संस्थालाई दिगो,सक्षम,सफल र विश्वसनिय संस्थाको रुपमा स्थापित गराउर्दै सदस्यहरुको हितलाई ध्यानमा राखी आफ्नो गतिविधीहरुलाई अगाडि बढाइएको उनको भनाई छ । संस्थाले अझ आधुनिक र गुणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरी समुदायमा आधारित सदस्य केन्द्रीत संस्थाको रुपमा विकास गर्दै लैजाने उनले सभामा उल्लेख गरिन् । संस्थाले वित्तीय कारोवारलाई पारदर्शि र व्यवस्थित बनाउन सम्पत्ति शुद्धिकरण,निवारण सम्बन्धी जारी ऐन,निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै आएको र उक्त निर्देशन अनुसार संस्थामा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सम्पूर्ण संयन्त्र तयार गरी कार्यान्वयन गर्दै आएको उनको भनाई छ ।

संस्थाका सचिव विकल्प पाठकले आ.ब.२०८०\ ८१को कार्यक्रम, बजेट तथा व्यवस्थापकिय प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । कम्जोर नियमन र कमजोर आन्तरिक सु शासनको अभावका कारण शहरी क्षेत्रका कतिपय सहकारी संस्थाले आफ्नो वित्तीय सन्तुलन गुमाउँदा सहकारीप्रति अविश्वास बढेर गएको उनले बताए । आन्तरिक नीति नियम बनाई लागू गर्न सके र संस्थाहरुमा सुशासन कायम गरी सहकारीको पुँजीलाई उत्पादन र रोजगारी सृजना गर्ने क्षेत्रमा परिचालन गर्दै सहकारी क्षेत्रको बिग्रदो साखलाई राज्यस्तरबाट सुधारका लागि पहल गरे यस क्षेत्रको समस्या क्रमश हल भएर जाने उनको विश्वास छ । अर्थतन्त्र चलायनमान नभई व्यापार व्यवसाय प्रवर्दन हुन नसक्दा कर्जा असुली प्रकृया चुनौती बन्दै गएको र संस्थाबाट प्रवाह भएका कर्जाहरुलाई असुलीमा प्राथमिकतामा राखी थप सुरक्षण गरी अगाडि बढेको उनले सभामा जनाए । संस्थाले सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा कार्यक्रम निरन्तर संचालन गर्दै आएको र गत आर्थिक बर्षमा ४ हजार ५१० जना सदस्यलाई सहकारी शिक्षा दिएको उनले जानकारी दिए ।
साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले प्रतिवेदन पेश गरेका थिए । समितिले आवधिक भन्दा नियमित बचतमा जोड दिनुपर्ने, बाह्य ऋणको अनुपात घटाउँदै लैजानुपर्ने, निक्षेप र कर्जाको अनुपात कायम राख्नुपर्ने, सदस्यलाई सक्रिय बनाउ रणनीति तयार गरेर लागू गर्नुपर्ने, कार्यालय खर्च कम गर्नुपर्ने लगायतको सुझाव सञ्चालक समितिलाई दिएको छ । साधारण सभाले आगामी चार वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नुका साथै विभिन्न ११ एजेण्डा उपर छलफल गरी पारित गरेको छ । साधारण सभाको अवसरमा उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
संस्थाले सदस्य राहत तथा स्वास्थ्य उपचार सुविधा मार्फत ३१० जना सदस्यलाई ५ लाख ९२ हजार आर्थिक सहायता गरेको छ । संस्थाले प्रविधि प्रयोगलाई प्राथमिकता साथ अगाडि बढाएको र एटिएम, क्युआर,मोबाईल बैकिङ्ग लगायत थुप्रै सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले सामाजिक कार्य अन्तरगत स्वास्थ्य शिविर, रक्तदान र अन्य संघ संस्थालाई सहयोग गर्दै आएको छ । संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १६ करोड ५१ लाख,बचत संकलन १ अर्ब ७९ करोड र ऋण लगानी १ अर्ब ९१ करोड गरेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड १८ लाख र स्थिर सम्पत्ति २४ करोड ८३ लाख रहेको छ भने गत आ.ब.मा संस्थाले २ करोड २३ लाख आयकर अघिको नाफा गरेको छ ।

यस आर्थिक बर्षमा संस्था सञ्चालन प्रणालीमा सु शासन कायम गरी सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरी सदस्य हितकारी बचत योजना लागू गर्ने लक्ष्य संस्थाको छ । साधारण सभाको अवसरमा लायन्स तथा लियो क्लब अफ काठमाडौं चाबाहिलको संयुक्ता रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । साधारण सभा स्थलमा आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो ।
नेपालपत्र संवाददाता