मंगलबार, कार्तिक ११ गते २०८३

बागमती प्रोस्कूनको चौंथो साधारण सभा सम्पन्न, विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान


कार्तिक २३, २०८१ शुक्रबार
बागमती प्रोस्कूनको चौंथो साधारण सभा सम्पन्न, विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान


बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को चौंथो साधारण सभा सम्पन्न भएको छ । सभामा १४ विद्यामा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सघको चौंथो  वार्षिकोत्सवको अवसरमा  घोषणा गरिएको  पुरस्कार तथा सम्मान  आज प्रदान गरिएको हो । 

कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण  सहकारी संस्था  र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई  प्रदान गरिएको छ । 

त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तान र  उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । साकोस पदाधिकारी सम्मान भरत प्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था, अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखालाई  सम्मान गरिएको छ । त्यसैगरी प्रोस्कुन पूर्व सञ्चालक सम्मान  राधा सुङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान  गरिएको छ ।

सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उद्धव सापकोटाले न्युन जनशक्ति, ,स्रोत र साधन र शुन्यबाट सुरु भएको संघले ४बर्षमा आफ्नो स्थापनाको औचित्य सावित गर्न सफल भएको बताए । शुन्यबाट सुरु  भएको संघले यस अवधिमा सेवा केन्द्र विस्तारसँगै १३ जना कर्मचारीबाट सदस्य संस्थालाई सेवा प्रदान,कोशिस कार्यक्रम सञ्चालन,विभिन्न विषयमा तालिम दिन पाठ्यक्रम विकास र १३ जिल्लाको ७६ पालिकामा नेटवर्क विस्तार गर्न सकेको उनले जनाए । त्यसैगरी ५ सय भन्दा बढी संस्थालाई संघको सदस्य बनाई ३ अर्ब ५० करोड कारोबार गर्न  सफल  भएको तथा सञ्जालमा आवद्ध सदस्यहरुको वर्गिकरण गरी सोही अनुसारको सेवा प्रवाह गर्न पूर्वधार विकास गरेको उनले सभामा जानकारी दिए ।

संघका महासचिव जिवसराज खड्काले आर्थिक बर्ष २०८० / ८१ को प्रगति प्रतिवेदन र यस आर्थिक बर्षको लागि प्रस्तावित नीति, कार्यक्रम तथा कार्य योजना सभामा प्रस्तुत गरेका थिए । संघले सदस्य संस्थाहरुलाई पूर्ण सेवा प्रदान गर्दै आएको बताउदै उनले ‘सक्षम र पूर्ण सेवाका लागि समर्पित उत्कृष्ट वित्तीय सहकारी सञ्जालको’ परिकल्पनाका  साथ संघ क्रियशिल रहेको उनले जनाए । संघले दिगो सहकारी सञ्जालको लागि वृहत एकीकरण अभियान,ग्रामीण विकासका लागि सहकारी कार्यक्रम,बचत तथा ऋण सहकारीका लागि तथ्याङ्क केन्द्र,उद्यमशीलता विकास कार्यक्रम,गरिबी विरुद्ध वित्तीय साक्षरता,अन्तराष्ट्रिय महिला सञ्जाल विस्तार,मानव श्रोत विकास जस्ता थुप्रै कार्यक्रम गरिएको उनले सभामा जानकारी दिए ।

संघका कोषाध्यक्ष केशव प्रसाद दंगालले सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ७ करोड ४८ लाख ८८ हजार, बचत संकलन ३ अर्ब ५४ करोड,ऋण लगानी ३७ करोड १० लाख,वित्तीय लगानी २ अर्ब ५५ करोड ७२ लाख  ३८ हजार, सञ्चालन मुनाफा  १ करोड ६३ लाख गरी कुल सम्पत्ति ३ अर्ब ६५ करोड ६६ लाख पुगेको बताए ।