मंगलबार, कार्तिक ११ गते २०८३

किसान कल्याण साकोसले मनायो २९ औं स्थापना दिवस


कार्तिक १५, २०८१ बिहीबार
किसान कल्याण साकोसले मनायो २९ औं स्थापना दिवस

सुनसरीको  इटहरीस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औं स्थापना दिवस  मनाएको छ । संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले मुलुककै सफल साकोसहरुमा गनिने किसान कल्याण साकोसलाई करिब ३ दशकको यात्रा सफलतापूर्वक पार गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।  नीति, विधि र प्रविधिमा आधारित भई वित्तीय सहकारीका मापदण्डहरुको अधिनस्थ सदस्य मैत्री काम गरेका कारण संस्था सफल भएको उल्लेख गर्दै संस्थापनाकालदेखि वर्तमान नेतृत्व बधाईको हकदार भएको उनले बताए  । नेफ्स्कून सञ्चालक सदस्य समेत रहेका  साकोसका अध्यक्ष ढकालले साकोसले मात्रात्मक सँगै गुणात्मक विकासलाई प्राथमिकता दिएको जानकारी गराए । उनले  संस्थाका गतिविधिरुमा पारदर्शिता झल्कने भन्दै सफलताको कारक सुशासन भएको दाबी गरे । 

३४ जनाबाट १७ सय रुपैयाँ पुँजी संकलन गरी स्थापना भएको किसान कल्याण साकोसले हाल हाल सुनसरी जिल्लाभित्र ७ सेवा केन्द्रमार्फत करिब साढे २३ हजार सदस्यको विश्वास जित्न सफल भएको छ । सो अवसरमा महासंघका  पूर्व संचालक रामचन्द्र उप्रेतीलाई उत्कृष्ट सहकारी अभियन्ताका रूपमा नगद सम्मान गरिएको  थियो भने संस्थापक अध्यक्ष सम्मान १ जना, चुडाराज खतिवडा स्मृति सम्मान ४ जना,  उत्कृष्ट पत्रकार २ जना,  बिशेष सम्मान ४ जना लगायत उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारीसहित अन्य २३ विधामा १०२ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।  विगतमा एक्सेस ब्राण्ड प्राप्त गरिसकेको किसान कल्याण साकोसले थुप्रै सम्मान पुरस्कार पनि प्राप्त गरिसकेको छ ।