शुक्रबार, कार्तिक ७ गते २०८३

"पहिले म संसार बदल्न चाहन्थें, अहिले केही ज्ञान आएपछि, आफैंलाई बदल्न लागेको छु।" — रुमी


कार्तिक ९, २०८१ शुक्रबार
"पहिले म संसार बदल्न चाहन्थें, अहिले केही ज्ञान आएपछि, आफैंलाई बदल्न लागेको छु।" — रुमी

हिजोसम्म म आफूलाई बहुत बाठो ठान्थें, त्यसैले संसार बदल्ने कुरा गर्दथें, आजकाल केही ज्ञान आएको छ, त्यसैले आफैंलाई बदल्नमा लागेको छु

: कवि जलाल उद्–दिन मुहम्मद रुमी

सौन्दर्य र ईश्वर ('हुस्न और खुदा') को बारेमा सुन्दर सम्मिश्रण गरेर कतै कुर’आनका आयतलाई आधार बनाएर पर्सियन कविता तथा गजल रचना गर्ने, (रुमी मात्र भनेपछि छिटो चिनिने) तेह्रौं शताब्दीका ‘महान पर्सियन कवि’ हुन् जलाल उद्–दिन मुहम्मद रुमी (१२०७–१२७३) ।
उनका रचनाहरू इरान, ताजिकिस्तान, टर्की, ग्रीस, अफगानिस्तानको पख्तुन भेग, अरब जगतका साथै भारतका मुसल्मान समुदायमा समेत ब्यापक मात्रामा पढिन्छ। अमेरिकामा पनि उनका रचना–कृतिहरू व्यापक पढिएका पुस्तक (बेस्ट सेलर बुक) को सूचीमा छन्।
कवि रुमी इस्लामी ब्रह्मविद्याका सुन्नि वेदान्ति, इस्लामी ऋषि परम्पराजस्तो ‘सूफी’ चिन्तनका उपदेशक पनि हुन्। यिनलाई समकालीन सामान्य मानिसहरू मगज सड्केको पनि भन्ने गर्थे । आज अफगानिस्तानमा पर्ने बल्खमा पर्सियन भाषी परिवारमा यिनको जन्म भयो, जहाँ त्यसबेला पर्सियन संस्कृतिको गढ मानिन्थ्यो ।
भनिन्छ, स्थानीय मंगोल जातिसँग यिनका आमाबाबुको भनाभन भएपछि त्यो ठाउँ छोडेर उनीहरू टर्कीको कोन्यामा बसाईं सरे । तुर्क–पर्सियन क्षेत्रमा पर्ने ‘रुम सल्तनत’ मा यिनको धेरैजसो जीवन बित्यो । त्यहीं उनले कालजयी कृतिहरूका रचना गरे । त्यहीं इस्लामको सूफी सम्प्रदायको ऐतिहासिक विकास भएको हो । रुम सल्तनतकै नामबाट ‘रुमी’ नाम राखिएको देखिन्छ ।
१८ वर्षको उमेरमा रुमीको विहे एक खानदानी परिवारकी कन्यासँग भयो र एक छोरा भएको पनि देखिन्छ । जन्मभूमिबाट उनी बग्दाद पुगे । ६६ वर्षको उमेरमा निधन भएको यी सन्त कविको, टर्कीस्थित कोन्या भन्ने ठाउँमा मजार (चिहान) छ । ८० को दशकमा टर्कीले यिनको चित्र र चिहानको तस्बीर अंकित बैंक–नोट पनि चलायो ।

Rumiko salik.jpg
रुमीका केही चिन्तन (विभिन्न सम्पादकले अनुवाद गरेर राखेका)
‘प्रयोजन, इश्वरले छोडेको छायाँ हो, इश्वरचाहिं सूर्य हुन्’
(सम्पादक इडवार्ड हेनरी ह्विनफिल्डद्वारा रुमीको प्रख्यात कृति ‘मस्नवी’ बाट अनुदित)।
“म खानीको रुपमा मरें र बिरुवा बनें,
बिरुवाको रुपमा म मरें र जनावर बनें,
म जनाबरको रुपमा मरें र मान्छे थिएँ,
म अब किन डराउँ ? म मर्नमा कहिले कम थिएँ ?”
(‘इस्लामको रहस्य’ बाट १९२४ मा अनुदित)
‘जसले लान्छना लगाउँछ, खोट उसैभित्र हुन्छ, सद्भावले आलोचना गर्नुपर्ने कुरा देख्दैन’ (रुमीका वचनको सँगालो, २००० बाट) ।
‘तिमी पखेटा लिएर जन्मेका हौ, जीवनमा घिस्रिन किन खोज्छौ ?’ (लारी चाङ को सम्पादन तथा अनुवाद, २००६)