शनिबार, आश्विन १७ गते २०८३

वित्तीय अपराधको साझेदार नबनौं, ‘मनी म्यूल’बाट जोगियौंः नेपाल राष्ट्र बैंक


कार्तिक ६, २०८१ मंगलबार
वित्तीय अपराधको साझेदार नबनौं, ‘मनी म्यूल’बाट जोगियौंः नेपाल राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंकले एक वित्तीय सचेतनामूलक सन्देश जारी गर्दै आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरूलाई प्रयोग गर्न नदिन सुझाव दिएको छ । खाता वा त्यसको विस्तृत विवरण अन्य कसैलाइ प्रयोग गर्न दिँदा ‘मनि म्यूल’ बन्न पुग्ने खतरा रहेकोमा राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको हो । 

सन्देशमा भनिएको छ ‘‘तपाईंको बैंक खाता प्रयोग गर्नको लागि वित्तीय अपराधमा संलग्न व्यक्तिहरूले तपाईलाई विभिन्न माध्यमहरू जस्तैः इमेल, फेसबुक म्यासेञ्जर, भाइवर, ह्वाट्स्याप, टेलिग्राम लगायत अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेजमार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरू पठाई तपाईंलाई विश्वासमा पारी तपाईंको बैंक खाता वा वालेटको गोप्य विवरण लिने त्यस्ता व्यक्तिले तपाईंको खातामा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन् । यसरी त्यस्ता व्यक्तिले तपाईंलाई पनि अपराधको साझेदार बनाउन सक्दछन् । यस्तो अपराधिक पद्धतिलाई मनि म्यूल भनिन्छ । तसर्थ, आफ्नो बैंक खाता वा वालेटको जानकारी कसैलाई नदिनुहोस् । यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध भएको ले यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीसमेत हुन्छ ।’’

मनि म्यूल अपराधजन्य गतिविधि भएकाले त्यस्तो जालमा नपर्न र सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन सूचनामा भनिएको छ ।