समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र आफुले लिएको ऋण तथा वक्याैताको दायित्व फरफारक गर्न आउन सरकारले ताकेता गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बुद्धनगरले ‘दायित्व फरफारक सम्बन्धी अत्यन्त जरुरी सूचना’ प्रकाशित गर्दै पटकपटक ताकेता गर्दासमेत अधिकांश ऋणी सदस्यहरुले सम्पर्क नगरेको र दायित्व तिर्न नआएको जनाएकाे छ । सूचना जारी भएकाे १५ दिन भित्र (२०८१ कार्तिक १ बाट) ऋणी तथा जमानीकर्ता समेतबाट असुल उपरको कारवाही अगाडि बढाउने जनाएको छ ।
समितिले समस्याग्रस्त घोषित गरेका संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीहरुलाई आफ्नो दायित्व भुक्तानीको लागि पटकपटक राष्ट्रिय स्तरको पत्रपत्रिका, एसएमएस समेतबाट ३५ दिने सूचना समेत प्रेषित गरेको भएपनि केहि ऋणी सम्पर्कमा आएको तर अधिकांश ऋणी सदस्य बुझबुझारथ गर्न नआएको जनाएको छ ।
समितिले दिएको म्यादभित्र दायित्व बुझाउन नआए ऋणी तथा जमानीकर्ताका एकाघर परिवारका श्रीसम्पत्ति तथा बैंक खाता तत्काल रोक्का गर्नै, कालो सुचिमा राख्नुका साथै सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट ऋण असुल उपर गरिने सूचनामा जनाइएको छ । समस्याग्रस्त घोषित २१ मध्ये १८ वटा संस्थाको सूचि उल्लेख रहेको छ ।
नेपालपत्र संवाददाता