वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोज महिनाको तुलनामा कात्तिक महिनामा धेरैजसो बैंकहरुले ब्याजदर घटाएका छन् ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असोज महिनाको तुलनामा दश बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै नौं बैंकले असार महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने एक बैंकहरुले ब्याजदर बढाएको छ ।
कात्तिक महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.१८७ प्रतिशत रहेको छ भने संस्थागतर्फ असार लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.९१ प्रतिशत विन्दुमा झरेको छ ।
सानिमा बैंकले भने कात्तिक महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.१५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ।
यता कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल एसबीआई, एभरेष्ट, कुमारी, प्रभु, ग्लोबल अईएमई, एनएमबी र माछापुच्छ्रे बैंकले भने असोज महिनाकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएका छन् ।
सिटिजन बैंक इन्टरनेशनलले ब्याजदर घटाएर व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै लक्ष्मी सनराइज र सिद्धार्थ बैंकले बैंंकले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएका छन् भने प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।
कात्तिक महिनाका लागि नबिल बैंकले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ५।२५ प्रतिशत ब्याज दिने भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यसैगरी एनआइसी एशिया बैंकले व्यक्तिगत तर्फ ६.९९ प्रतिशत र संस्थागत तर्फ ५.९९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।
नेपालपत्र संवाददाता