शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि दुई करोड सहयोग


आश्विन १५, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि दुई करोड सहयोग

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैंया ट्रान्सफर गरेको छ । बाढीपहिरोको कारण मृत्यु हुने नागरिकहरु प्रति बैंकले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैंकले बाढीपहिरोकोे कारण घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 

कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, सहसचिव विनोद कुवँर, बैंक सञ्चालक समिति सदस्यहरु महेश भट्टराई, सुशिल घिमिरे, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीको उपस्थिति रहेको थियो ।