शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ कार्यक्रम, ५ कराेडसम्म पाइने


आश्विन १४, २०८१ सोमबार
राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ कार्यक्रम, ५ कराेडसम्म पाइने

 
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘एक प्रदेश एक विशेष कार्यक्रम’ अन्तर्गत प्रदेश विशेष कृषि कर्जा सार्वजनिक गरेको छ । कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म कर्जा दिइने बैंकले जनाएको छ । 

कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले सो शीर्षकमा कर्जाको लागि आवेदन दिन सक्ने जनाइएको छ ।

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम अवधि १० वर्ष रहेको छ । 

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने भएको छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घरजग्गा समेत धितो सुरक्षणको रुपमा राख्न सकिने छ । कर्जाको बीमा गरिने र देशैभर रहेका शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने भएको छ ।

बैंकले ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरमार्फत् बैंकले वित्तीय सेवा प्रदान गर्दै आएको छ ।