शनिबार, आश्विन १७ गते २०८३

कर्जा वृद्धि न्यून, एक महिनामा १४ अर्ब ११ कराेडले बढ्याे


आश्विन १०, २०८१ बिहीबार
कर्जा वृद्धि न्यून, एक महिनामा १४ अर्ब ११ कराेडले बढ्याे

 

नेपाल राष्ट्र बैंकले २०८१ साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको जनाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. ४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

साे अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ । 

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये १३.३ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.१ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।