सगुन बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा पूर्व मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा प्रदेश सांसद जवाहरलाल कुशवाह, हरिवन नगर प्रमुख रमेश बुढाथोकी, बरहथवा नगरप्रमुख कल्पना कटवाल लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
सभामा अध्यक्ष ढकालले सदस्यहरूले समयमा ऋणको साँवाब्याज भुक्तानी नगर्दा, सदस्यलाइ मागेका बेला बचत रकम फिर्ता गर्न अधिक तरलता रकम राख्नुपर्दा संस्थाको आम्दानी खुम्चिएको बताए । संस्थाले जोखिमलाइ विश्लेषण गरी ऐन कानुनको पूर्ण रूपमा पालना गरेकाले संस्थालाइ सुरक्षित रूपमा अगाडि बढाउने सकेको उनको भनाइ छ । विश्वव्यापीमा रुपमा आएको आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत पर्दा त्यसबाट सहकारी क्षेत्र पनि प्रभावित भएको उनले बताए । सहरकेन्द्रीत केही ठुला सहकारी संस्थाको व्यवस्थापकिय कम्जोरी र गलत नियतका कारण सदस्यको बचत फिर्ता गर्न नसक्दा त्यसको प्रभाव समुदायमा आधारित सहकारी संस्थाहरुमा समेत परेको उनको भनाई छ ।
‘उत्कृष्ट व्यवसायिक दीगो वित्तीय सहकारी’ भन्ने परिकल्पनाका साथ संस्थालाइ नीति विधि र प्रविधिमा सञ्चालन गर्दै आएको उनले सभामा जानकारी दिए । सहकारी क्षेत्रमा आएको संकटपूर्ण समयमा पनि सदस्यहरूको विश्वास र निरन्तरको साथले संस्था सबल बन्दै गएको उनले जनाए ।
सभामा सचिव राजकुमार उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको हितलाइ केन्द्रमा राखेर बचतको माध्यमबाट पुँजी एकीकृत गरी सदस्यहरूको आर्थिक र सामाजिकस्तर माथि उकास्न संस्थाले काम गर्दै आएको बताए । संस्थाले आ. व. २०८०।८१ मा गरेका कार्यक्रमको जानकारी दिँदै चालु आर्थिक वर्षमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उनले जनाए ।
संस्थाको आ.व. २०८०।८१ अन्त्यसम्म शेयर पुँजी १४ करोड ८४ लाख २५ हजार रहेको छ भने जगेडा कोषमा १४ करोड ८१ लाख रकम पुगेको छ । त्यस अविधमा संस्थाले बचत संकलन १ अर्ब १५ करोड ३३ लाख र ऋण लगानी १ अर्ब १८ करोड ४८ लाख रहेको छ । संस्थाले त्यस अवधिमा ३ करोड ३७ लाख खुद मुनाफा गरेको छ । संस्थामा १२ हजार ९२० सदस्य आवद्ध रहेका छन् । सदस्यहरूमाझ अधिकतम १३.५ प्रतिशत ब्याजदरमा विभिन्न १३ शीर्षकमा संस्थाले ऋण लगानी गर्दै आएको छ । संस्थाले १ अर्ब ५६ करोड ३७ लाख कुल कारोबार गर्न सफल भएको छ ।
सभामा संस्थाका अध्यक्ष ढकालले प्रस्तुत गरेको १६ प्रस्ताव मध्ये १५ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। संस्थाले सामाजिक कार्य अन्तरगत नेपाल रेडक्रम सोसाइटी प्रादेशिक रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए ।
नेपालपत्र संवाददाता