नेपालका अन्तर्राष्ट्रिय बहुभाषिक कवि सन्तोष कुमार पोखरेल महिनादिन देखि रुसमा हुनुहुन्छ । शान्तिको सन्देश बोकेर पुग्नु भएका कवि कालिनिनग्राद एक महिना बसेर त्यहाँको सौन्दर्यमा रमाएको हामीले देख्यौं तर पनि त्यहाँ पोखरेलले शान्तिका लागि कविता लेखिरहनुभयो, अनि हामीले पनि ती कविता प्रकाशित गर् ।
लेखक संघ दागिस्तानको ९० औं बर्षगाँठ र रुसी कवि र दागिस्तानका जनकवि रसुल गम्जातोभको शतवार्षिकीको निम्तो मान्न वहाँ क्यास्पियन सागरको किनारमा रहेको सुन्दर राजधानी शहर मखाछ्कला पुग्नुभयो । रुसी लेखक संघका दलबलसित मास्कोबाट त्यहाँ पुग्नु भएका नेपाल कविले दागिस्तानी जनकविको घर र सङ्ग्रहालय समेत अवलोकन गर्नुभयो । यो साहित्यिक मेला सेप्टेम्बर ७ देखि ९ सम्म चल्यो। यसमा दागिस्तान सहित रुसी गणराज्यका विभिन्न प्रान्तहरू र अन्य केही विदेशी कविहरूको समेत उपस्थिति थियो ।
रसुल गम्जातोभलाई जनताले दिएको माया र सम्मानले हाम्रा कवि प्रभावित हुनु भयो। रसुलको आधा कदको मुर्ति नेपालको नगरकोटमा केही वर्ष अघि राखिएको छ। रसुल नेपाल आएर अभार भाषामा हिमालयको सौन्दर्य र कुमारी प्रति लेखेका कविताहरू कृष्ण प्रकाश श्रेष्ठले अनुवाद गर्नुभएको थियो।
रसुलको समाधिमा फूल चढाएका कवि पोखरेल ज्ञात अज्ञात सैनिकको समाधिमा फूल चढाउने क्रममा रसुल गम्जातोभको झुराब्ली भन्ने गीत बज्यो । यो झुराब्ली भन्ने चरो हो र साइबेरियाबाट आएको यो चरोलाइ नेपालमा कर्याङ्कुरुङ भन्छौं । यी सेता सुन्दर चरा आफ्ना बथानमा आकाशको एक भाग ढाकेर उड्नेगर्छ।
झुराब्ली कविता रसुलले जापानकी ल्युकेमिया पीडित केटीको सम्झनामा लेखेको भनिन्छ जो द्वितीय विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम प्रहार गरेपछिको त्यसको असरले मरिन्। उनले सुने अनुसार हजारवटा कागतका कर्याङ्कुरुङ बनाएपछि रोग सन्चो हुन्छ भन्ने कुरो सुनेकी ती बालिकाले ६ सय वटा अस्पतालको शैय्यामा बसेर बनाइछिन् । उनले हजार पुर्याउनुपूर्व नै मरिछन्। बाँकि अरुले पछि पूरा गरेछन्। यसै घटनालाई समर्पित गरेर उनले यो झुराब्ली भन्ने कविता आफ्नो अभार भाषामा लेखे जसलाई रुसी भाषामा केही परिमार्जन गरेर गीत बनाइयो।
हो यही गीत बजेपछि स्कूलका साना केटीहरू कर्याङ्कुरुङ्को सेतै रङ्गको फ्रकमा मौन अभिनय गर्दैथिए त्यो प्राङ्गणमा । सिपाहीहरूको वीरगति र आत्माको चरामा प्रवेशको भाव दिइएको त्यस गीत मनि मौन नृत्यले कवि हृदय द्रविभूत भएछ र तुरुन्त एउटा रुसी भाषामा कविता तयार गरेर त्यसै साँझको कार्यक्रममा सुनाएको कवि पोखरेलले जानकारी दिनुभयो ।

रसुल गम्जातोभको गाउँ खुन्जानको संग्रहालयमा भएको सम्मान समारोहमा वहाँले रसुलको यो झुराब्लीलाई दुरुस्त नेपाली अनुवाद गर्छु भन्नुभएको थियो। यसको छन्दवद्ध अङ्रेजी अनुवाद समेत तयार भएको थाहा भयो हामीलाई । कवि पोखरेल दागिस्तान र रुसी लेखक संघका कविहरूले दिएको मायाले निकै प्रभावित हुनुभएको जनाउनुहुन्छ।
पाठकहरूसमक्ष यो नेपाली अनुवाद हामीले पस्केका छौः
कर्याङ्कुरुङ
स्व. कवि रसुल गम्जातोभ, दागिस्तान
मलाई लाग्छ कहिलेकाही ती सिपाहीहरू
जो रक्तिम युद्ध्भूमिबाट फर्केनन्
अनि सहयोद्धाका चिहानहरूमा गाडिएनन्
ती सेता कर्याङ्कुरुङ बने।
उसैबेला देखि आजसम्म
उड्दै हामीलाई आवाज दिन्छन्
के त्यसैले होला र बेला बेला दुखित भएर
हामी आकाशतिर हेर्दै मौन बस्छौं ।
आज साँझपखको बेलामा
म देख्छु कर्याङ्कुरुङ्हरू कुहिरोमा
उड्दैछन् आगफ्ना आकारहरू निर्माण गर्दै
मान्छेहरू जमीनमा हिँडेसरी ।
उनीहरु उड्दै शदिऔं देखि आफ्नो लामो बाटो तय गर्छन्
अनि कसैको त नाम पुकार्छन् नि
के त्यसैले हैन र कर्याङ्कुरूङ्ले कराए जस्तै
अभार भाषा सुनिन्छ ।
उड्छ क्लान्त बथान आकाशमा
मेरा पुराना साथी र मेरो रगत
अनि त्यो बथानमा एउटा सानो अन्तर छ
त्यो ठाँउ हो मेरो फगत ।
त्यो दिन आउनेछ कर्याङ्कुरुङको बथानसंगै
म पृथ्वीको दूरी पार गर्नेछु
आकाशमुनि चराजस्तै बोलाउनेछु
जसलाई धर्तीमा छाडेर गएँ।
(१९६५)
नेपाली अनुवाद: कवि सन्तोष कुमार पोखरेल । हाल मास्को, रुस। सेप्टेम्बर १२, २०२४