शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले दियो कोशी प्रदेश सांसदलाई वित्तीय साक्षरता


भाद्र २६, २०८१ बुधबार
राष्ट्रिय वाणिज्य बैंकले दियो कोशी प्रदेश सांसदलाई वित्तीय साक्षरता
 
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले प्रदेश सभाका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेका थिए । 
 
कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टले यस्ता कार्यक्रमको आवश्यकता बढेको बताउँदै  व्यवसायीहरु ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको त्यसको लागि बैंकहरुको ब्याजदर स्थिर हुनुपर्ने जिकिर गरे । प्रदेश सभाका उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्न आवश्यक रहेको बताइन् । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रा.वा.बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधारका बारेमा स्पष्ट पारेको थिए । 
 
कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेश सभा सदस्यहरुले जिज्ञासा राखेका थिए ।