शुक्रबार, कार्तिक ७ गते २०८३

मेरो प्रेमलाई


भाद्र २१, २०८१ शुक्रबार
मेरो प्रेमलाई

 

मेरो प्रेमलाई
मैले सयौं पटक इन्कार गरेकी हूँ
घरी प्रेम घरी तिरस्कार गरेकी हूँ
अनि हजार पल्ट हारेकी हूँ
म आफैंलाई, अनि मेरो मुटु 
फगत तिम्रो एक नजरमा,
अब म कसोरी तिमीबाट छुटूँ

मलाई केही थाहा छैन 
म त्यहाँ डुबेँ, म हराएँ
तिमी भित्र स्वयं र मभित्र तिमीलाई पाएँ।

सुन ! प्रेमोद्गार हो मेरो अनुपम
अब म तिम्रै हुन चाहन्छु
मेरो प्रियतम !

तिमी सगर हौ मेरो
म सागर बनी तिम्रो बिम्ब मेरा छातिमा टाँसिराख्छु 
तिमीलाई हेरिराख्छु अनि हाँसिराख्छु 
तिमी प्रत्येक बिहान पहिलो दर्शन दिन्छौ!
म मेरा लहरहरूले अभिवादन गर्छु।

तिम्रा बादलहरूलाई अङ्गालोमा बाँधेर 
यो प्रेम अमर बनाउँछु
अजर बनाउँछु।
यो सृष्टिमा म फगत तिम्रै हूँ 
अनि तिम्रै रहन्छु हरदम
मेरो प्रियतम