दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको आगामी ४ बर्षको लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन शुरु भएको छ । संस्थाको २७ औं साधारण सभाले आगामी चार बर्षको लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्ने छ । निर्वाचन उपसमितिको समय तालिका बमोजिम २०८१ भाद्र १५ गते विहान १० बजेदेखि दिनको ४ बजेसम्म उम्मेद्वारी पेश गर्ने र तत्पश्चात उम्मेद्वारी उपर छानविनको समय तालिका रहेको थियो ।
छानविनको क्रममा संस्थाको सदस्यता नं ५२६९ उल्लेख गरी बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका शंकर बस्नेतको नाम मतदाता नामावलीमा नभएकोले निज उम्मेद्वार सञ्चालक समितिमा निर्वाचित हुन अयोेग्य रहेको भनी निर्वाचन उपसमितिले २०८१ भाद्र १६ गते प्रकाशन गरेको सूचनामा उल्लेख छ । निर्वाचन उपसमितिले छानविनको क्रममा बस्नेत लगायत ८ जना उम्मेद्वार अयोग्य भेटिएको जानकारी दिएको छ । संस्थाले यही भदौ २९ गतेबाट क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी असोज ५ गते सभा समापन गर्ने जनाएको छ ।
निर्वाचन उपसमितिका संयोजक एंव निर्वाचन अधिकृत देवीप्रसाद शर्माले हस्ताक्षर गरेको उम्मेदवारको नामवलीमा आठ जना उम्मेदवारहरु अयोग रहेको उल्लेख गरिएको छ । संस्थाको निर्वाचन कार्यक्रम तथा निर्वाचन उपसमितिले संस्थाको निर्वाचन नीति २०८० को दफा ७,८ र ९ बमोजिम उम्मेदवारीको नाम प्रकाशन गरेको थियो । बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका बस्नेतले जनमुखी सहकारीको सदस्यता न. उल्लेख गर्नु पर्नेमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सदस्यता न. उल्लेख गरेकाले उम्मेदवारी खारेज गरिएको स्रोतले जानकारी दिएको छ ।
नेपालपत्र संवाददाता