रुस र युक्रेनबीच युद्ध, २४ फेब्रुअरी २०२४ मा, सुरु हुनु एक महिना अगाडि, कवि सन्तोष कुमार पोखरेलले सीमा तनाव अन्त्य गर्न सार्वजनिक अपिल गरेका थिए। शान्तिको पक्षमा दृढ अडान लिँदै, पोखरेलले युद्धको विरोध गर्दै, राष्ट्रहरूबीच मेलमिलाप र समझदारीको निम्ति कवितामार्पफ आह्वान गरे।
रुस र युक्रेनलाई सम्बोधन गरिएको उनका एक मार्मिक कविताले संसारको ध्यान आकर्षित गर्यो। अर्जेन्टिनी कवि र प्रख्यात वाचक पत्रिसिया पेन्लभर गालार्डो उनका शब्दहरूले यति प्रभावित भइन् कि उनले उक्त कवितालाई स्पेनी भाषामा अनुवाद गरिन् र समुद्रकिनारमा एउटा भिडियोमा रेकर्ड गरी, स्पेनी भाषी संसारमा त्यसलाई सार्वजनिक गरिन्। विश्वभरिका कविहरूले स्वतःस्फूर्त रूपमा पोखरेलका रचनाहरूलाई अनुवाद र अडियो(भिडियोमा परिणत गर्दै, उनको शान्तिको सन्देशलाई विश्वभर फैलाइरहेका छन्।
‘हालै मैले कवि सन्तोष कुमार पोखरेलसँग ७ अगस्टमा लामो कुराकानी गरें। तर, उनी भोलिपल्ट बिहान रुस उड्न तयार भएकाले, हामी प्रत्यक्ष भेट हुन सकेन। दुर्भाग्यवश, उनका नयाँ पुस्तकहरू ‘द वार एण्ड अदर पोएम्स’ र हिन्दी संग्रह ‘पहाड और सागर’को प्रतिलिपि त्यतिबेला उपलब्ध थिएन।’ – प्रधान सम्पादक ।
कवि पोखरलेले रुस प्रस्थान गर्नु अघि काठमाडौंमा रुसी राजदूतसँग भेटघाट गरेका थिए। राजदूतले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वमा पोखरेलको नैतिक समर्थन मागेका थिए। कविले, आफ्ना सिद्धान्तप्रति सच्चा रही, रुस, युक्रेन, र बेलारूसका जनताहरूको जरा एउटै भएको, मूलतः सबैले इसाई धर्म मान्ने र साँस्कृतिक परम्पराहरू समेत साझा रहेका जनसमूहका लागि यो युद्ध उनीहरूको साझा विरासतका लागि हानिकारक भएको बताएका थिए।
हाल कवि सन्तोष कुमार पोखरेल केही दिनका लागि रुसको कालिनिनग्राद शहरमा रहेका छन्। त्यस ठाउँको सुन्दर वातावरणले उनीलाई मोहित तुल्याए तापनि, उनी आफ्नो मिसनमा अडिग रहँदै, युद्धको अन्त्यको लागि आग्रह गरिरहेका छन्।
कवि पोखरेल सक्रिय लेखक हुन्, जो आफ्ना तत्काल र भावपूर्ण कविता प्रतिक्रिया प्रायः सामाजिक सञ्जालमार्फत् सार्वजनिक साझेदारी गर्छन्। उनका कविताहरू चोरी हुने जोखिमको बारेमा सोध्दा, उनले ढुक्कसँग भने कि कति कविता चोरी भए पनि, रचनात्मक भावना कहिल्यै समाप्त हुने छैन।
विभिन्न ६ वटा भाषामा लेख्ने उनका कविताहरू ३९ भाषामा अनुवाद भइसकेका छन् । सन्तोष कुमार पोखरेल साहित्यिक मञ्चमा प्रखर व्यक्तित्वको रूपमा उभिन पुगेका छन्। विश्व साहित्य र संस्कृतिमा उनले पुर्याएको योगदानकै कारण उनलाई ‘विश्व कवि’ र ‘विश्वका सुनौला लेखक’ को प्रतिष्ठित उपमा प्रदान गरिएको छ। साहित्यमार्फत् शान्तिका दूतका रूपमा क्रियाशील पोखरेल विश्व शान्तिका लागि धेरै वर्ष समर्पित गर्ने पहिलो नेपाली नागरिक हुन्, जसले विश्वभर मान्यता र प्रशंसा पाएका छन्।
हामी उनलाई उनको यस महान् अभियानमा सफलताको शुभकामना दिन्छौं र सुरक्षित रूपमा नेपाल फर्किनू भन्न चाहन्छौं। शान्ति र साहित्यिक उत्कृष्टताको लागि उनको अनवरत प्रयासले कवि पोखरेललाई विश्व साहित्यिक समुदायको सच्चा गौरव बनाएको छ।
कालिनिनग्रादमा रहँदा कवि पोखरेलले कोरेका हृदयस्पर्शी ३ कविता पाठकहरू समक्ष पस्केका छौँ।
१.
रुस र युक्रेनलाई
म प्रेमको कविता लेख्न बसेको
प्रेम आज लजाएर पर गई
युद्धले उधुम मच्चाएका यी देशमा
जहाँ लाखौं प्रेमीहरू बिछोडका आँसु पिएर ढलेका छन्
पाषाण बनेर।
आऊ तिमी नलजाऊ प्रेम
म दूर देशबाट आएको कवि हूँ
मेरा कविताका हरफभित्र तिमीलाई राखेर
म प्रेमको उद्घोष गर्दैछुँ
शान्ति शान्ति शान्ति१११
हृदयहरूलाई पूनस् द्रवीभूत हुन देऊ
यो प्रेमको महासागरमा
जीवन निकै छोटो छ
धेरै भो, अब युद्ध रोक !
— अगस्ट १२, २०२४। कालिनिनग्राद, रूस।
२.
लडाइँ रोक !
एउटा देशको शहीदकी स्वास्नीले लोग्नेको नाममा मैनबत्ती बालिछ
अर्को देशको शहीदकी श्रीमतीले अर्को मैनबत्ती बालिछ
ती दुबै एकै लडाइँमा मारिएका रहेछन्
देशहरू दुश्मन रहेछन्
प्रेम एउटै रहेछ मैनबत्तीको शीखा जस्तो
हृदयभरी बलिरहने।
आऊ, हामी सबै प्रेमको दियो जलाऔं
हाम्रा हृदयभरी !
मान्छे मार्ने लडाइँ रोक !
— अगस्ट १३, २०२४। कालिनिनग्राद, रूस।
३.
दाँतको दुखाई
यता आएको केही दिनदेखि मेरा दाँत दुख्न थालेका छन्
घरीघरी सुस्तरी घरी बेस्सरी
हिजो यहाँको छिमेकी मुलुकको कुनै लेखकसित कुरो भो
मैले भनें तिमी शान्तिको गीत लेख !
उसले भन्यो उ युद्धको उन्माद उकेल्छ रे !
मैले भने मान्छेको जीवन फिर्ता ल्याउन सक्छौ रु
उ बोल्दैन।
उ जीवन होइन जमीन देख्छ रे ।
मैले भने म त माटोमाथि यो जीवन देख्छुँ
उ भने जीवन माटोमुनि खोज्न तयार छ रे !
मलाई नमीठो लागेर आयो
उसको यो रुप देखेर ।
मैले उसका विचारको खण्डन गरें
उ आफ्नै अडानमा थियो।
मलाई छट्पटी लागेर आयो
अनि फेरी मेरा दाँत दुख्न थाले जोरसित।
— अगस्ट १५, २०२४ । कालिनिनग्राद, रूस।