मंगलबार, कार्तिक ११ गते २०८३

जनसेवा सहकारीले एकल अंकमा सदस्यलाई ऋण दिने, ऋणको ब्याज ९.८५ प्रतिशत मात्र

भाद्र ५, २०८१ बुधबार
जनसेवा सहकारीले एकल अंकमा सदस्यलाई ऋण दिने, ऋणको ब्याज ९.८५ प्रतिशत मात्र


पोखराको पुरन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उदेश्यले एकल अंकमा  ऋण लगानी गर्ने भएको हो ।

संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीले सदस्यहरुलाई ९.८५ प्रतिशतमा ऋण लगानी गर्ने बताए । सदस्यहरुको कृषि,पशुपालन र व्यापार व्यववसायलाई विशेष प्राथमिकतामा राखेर ऋण लगानी गर्न लागेको उनले जानकारी दिए । सहकारी संस्थाहरुले पनि एकल अंकमा ऋण लगानी गर्न सक्ने र  बैंक वित्तीय संस्थाकै सरह सस्तो ब्याजमा ऋण पाएपछि सदस्यहरुलाई व्यवसाय विस्तारमा टेवा पुग्ने उनको भनाई छ । संस्थाले सदस्यहरुलाई ५ बर्षको लागि परियोजनाको आधारमा ५ बर्षसम्मको लागि यस्तो ऋण दिने उनले जनाए । पछिल्लो समय सहकारी संस्थाहरुमा तरलता वृद्धि  हुँदै गएको छ भने कतिपय संस्थामा त अधिक तरलताको समस्या रहेको छ । सरकारले सहकारीमा ऋण लगानीको लागि  १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिदिएको छ । तर कतिपय सहकारी संस्थाले सन्दर्भ ब्याजदर भन्दा पनि तल गएर  सदस्यहरुलाई सस्तो र सरल रुपमा ऋण प्रवाह गर्ने उदेश्यका साथ एकल अंकमा ऋण  लगानी गर्दै आएका छन् ।

जनसेवा सहकारीको गत असार मसान्तसम्म शेयर पुुँजी ३ करोड ६१ लाख ८४ हजार, जगेडा कोष २ करोड १८ लाख १८ हजार,बचत संकलन ३२ करोड २२ लाख ६३ हजार र ऋण लगानी २९ करोड २५ लाख ८३ हजार रहेको छ । संस्थाको अन्य कोषहरुमा ६० लाख ३७ हजार, संस्थागत पुँजी २  करोड ३७ लाख ८७ हजार र कुल सम्पत्ति ४० करोड ४४ लाख ३९ हजार रहेको छ । संस्थामा गत असार मसान्तमा ३२.२३ प्रतिशत तरलता रकम रहेको छ । २ हजार ३८७ जना शेयरर सदस्यहरुको संस्थामा ४ सय ६६ जना सदस्यले संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् ।