विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले के कति विदेशी मुद्रा सटही गर्न पाउँछन् भन्ने विषयमा नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनामूलक जानकारी प्रदान गरेको छ ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले सम्बन्धित शैक्षिक संस्थाद्वारा निर्धारित शैक्षिक शुल्क बराबर विदेशी मुद्रामा भुक्तानी गर्न सक्छन् । त्यसका सम्बन्धित विद्यार्थीको निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेडर र सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायतका कागजात आवश्यक पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
त्यसैगरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले निर्वाह खर्चका लागि शैक्षिक संस्थाले उपलब्ध गराएको सपोर्टिङ डकुमेन्टमा खुलाइएको रकम सटही गर्न पाउने व्यवस्था रहेको छ । सपोर्टिङ डकुमेन्टमा रकमको विवरण नखुलेको अवस्थामा भने सटही गर्न पाउने निश्चित रकम राष्ट्र बैंकले नै तोकिदिएको छ ।
जसअनुसार बंग्लादेश र पाकिस्तानमा अधिकतम २५०० डलर तोकिएको छ भने चीन, मलेशिया, थाइल्याण्ड र फिलिपिन्समा ४००० डलर, सिंगापुर र दक्षिण कोरियाका लागि ६००० डलर रहेको छ ।
त्यसैगरी क्यानडा, अमेरिका, अष्ट्रेडिया र युरोपेली देशहरुका लागि अधिकतम ८००० डलर सटही गर्न पाउने व्यवस्था रहेको छ । त्यसबाहेक अन्य सबै मुलुकका लागि अधिकतम ५००० डलर सटही गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले प्रदान गरेको जनाएको छ ।
नेपालपत्र संवाददाता