आइतबार, आश्विन १८ गते २०८३

मिटरब्याजी र उनीहरूकाे संरक्षण गर्ने राज्य विरूद्ध संघर्ष गर्ने घाेषणा

श्रावण २५, २०८१ शुक्रबार
मिटरब्याजी  र उनीहरूकाे संरक्षण गर्ने राज्य विरूद्ध संघर्ष गर्ने घाेषणा

एक संयुक्त बक्तब्य निकाल्दै मिटर ब्याज अपराध र यसबाट सिर्जित समस्याहरूकाे समाधान गर्न संघर्ष गर्दै रहेका बिभिन्न संगठनहरू एक भएका छन् । त्यस एकिकृत संगठनको नाम मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल राखिएका छ । त्यसका अध्यक्ष अवधेश कुशजाहफ, महासचिव मनाेजकुमार पासमान र प्रवक्ता निर्ग नबीनले एक संयुक्त बक्त्य  निकालेर हिजाेसम्मका सघर्षहरूकाे समीक्षा गरकाे र अबका संघर्षहरू कसरी अघि बढाउने कार्य याेजना बनाउँदै सबैमा सहयाेगका लागि अपिल गरेका छन् । विज्ञप्तिमा भनिएकाे छः

मिटर ब्याज अपराध र यसबाट सिर्जित समस्याहरुको समाधान गर्न यसअघि अनेकौँ संघर्षका कार्यक्रमहरु भइसकेका छन् । नेपाली समाजमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समेतको रुपमा रहेको आर्थिक समस्या (मिटर ब्याज) विरुद्ध उत्पीडित किसान मजदुरहरुले स्वस्फूर्त रुपमा सुरु गरेको न्यायीक संघर्ष आज यो घडीमा आइपुुग्दै गर्दा आशादायी र संगठित हुँदै गईरहेको छ । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल र मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपाल स्थापना भएपछि मिटर ब्याज विरुद्धको आन्दोलनले थप सुदृृढ र संस्थागत आयामहरु विकास गर्दै आएको छ ।

यसैक्रममा विभिन्न स्थानीय जनसंघर्षका कार्यक्रमहरु, बर्दिबास – काठमाडौँ पैदल मार्च, ४२८ दिने केन्द्रीय धर्ना र केन्द्रीय संघर्षका रुपमा आयोजित मिटर ब्याज विरुद्ध न्याय मार्चले विशेष महत्वका साथै ऐतिहासिक उपलब्धीहरु संस्थागत गर्दै आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको तथ्य सर्वविदितै छ । आन्दोलनको विकास र उपलब्धीसँगसँगै चुनौती र विषम परिस्थितिहरु सिर्जना हुने विषय स्वयं सिद्ध तथ्य हो । एकातिर शान्तिपूर्ण धर्ना, नाराजुलुस, प्रदर्शनमार्फत् राज्यलाई हाम्रा मुद्धाहरुप्रति जवाफदेही बनाउनु र अर्कोतर्फ राज्यको सम्पूर्ण संयन्त्र, कानुनी व्यवस्था तथा राजनीतिक नेतृत्वनै सम्पूर्णरुपले हाम्रो प्रतिकूल रहनु अब समिक्षा गर्नूपर्ने प्रमुख सन्दर्भ हो । देशका सम्पूर्ण राजनीतिक दलहरु, जनप्रतिनिधी, उच्च पदस्थ व्यक्तिहरु र सामाजिक संरचनाका पहुँचवालाहरु नै मिटर ब्याज धन्दालाई प्रश्रय दिने र कतिपय अवस्थामा मिटर ब्याजी साहु महाजनहरुसँग अवैध लेनदेन गरी पीडितमाथि शोषण तथा उत्पीडनको श्रृखंला मच्चाउने प्रमुख भूमिकामा रहेको देखिन्छ ।

कानुनी छिद्रहरुको दुरुपयोग गर्ने मिटर ब्याजी साहुहरुका धनसम्पत्तीको आडमा पीडितहरुलाई विभिन्न खाले हिंसा र कानुनी उल्झनहरुमा फसाइ प्रताडीत गर्ने कार्यमा राज्यको प्रत्यक्ष संलग्नता रहेको छ । यसर्थ, अबको संघर्ष सिमित मिटर ब्याजी साहु महाजनको विरुद्धमा मात्र नभई तिनका मतियार बनेको समग्र राज्य संरचनाको विरुद्धमा केन्द्रीत हुनुपर्ने आवश्यकता बोध भएको छ ।

यसर्थ, पीडितहरुबिच एकता अपरिहार्य र निर्विकल्प शर्त भएकोले मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल र मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालबिचको एकता घोषणा सभा धनुषाधाममा भव्यताकासाथ सम्पन्न गरेका छौँ । नवगठित संगठनको अध्यक्षमा अवधेश कुश्वाहा, महासचिवमा मनोज कुमार पासमान र प्रबक्तामा निर्ग नविनलाई चयन गरिएको छ । दुबै केन्द्रीय समितिहरु विघटन भई १०९ सदस्यीय एकताको सम्मेलन आयोजक समिति निर्माण गरिएको छ ।

एकतापछिको संगठनको नाम, झण्डा, केन्द्रीय कार्यालय र विधान देहाय बमोजिम हुने निर्णय गरियोः 

(क) संगठनको नाम: एकिकृत संगठनको नाम मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल रहनेछ ।

(ख) संगठनको झण्डा: आन्दोलनको झण्डामा ३:२ अनुपातको गाढा रातो पृष्ठभूमीको मध्य भागमा सुनौलो रंगको हलो र हसिँया खप्टिएको हुनेछ भने हसिँयाको टुप्पोको समान कोणमा सुनौलो तारा रहने छ ।

(ग) संगठनको केन्द्रीय कार्यालय ः मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालको अध्यक्ष अवधेश कुश्वाहा, महासचिव मनोज कुमार पासमान र प्रबक्ता निर्ग नविन सम्मिलीत ३ सदस्यीय मुख्यालय निर्माण गरिएको छ । केन्द्रीय कार्यालय सचिवको रुपमा अजय कार्कीलाई चयन गरिएको छ ।

(घ) संंगठनको विधान ः एकताको सम्मेलन आयोजक समितिको पहिलो बैठकले मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालको विधान निर्माण गर्नेछ । एकताको सम्मेलन आयोजक समितिको बैठक केन्द्रीय कार्यालयले अनुकूलता अनुसार बोलाउने निर्णय भएको छ । तबसम्म मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनको अन्तरिम विधान नै प्रभावि हुनेछ । 
मिति २०८१ श्रावण २५ गते सम्पन्न एकता घोषणा सभाका थप निर्णयहरु देहाय बमोजिम सार्वजानिक गरिएको छ ः

१. मिटर ब्याज बिरुद्धको आन्दोलनको क्रममा मिटर ब्याजी साहु महाजनद्धारा हत्या गरिएका डाचाराज वाग्ले(सर्लाही), विनित सोनार(सुनसरी) र भोगेन्द्र ठाकुर(धनुषा)लाई मिटर ब्याज बिरुद्ध किसान मजदुर आन्दोलन, नेपालले सहिद घोषणा गर्दछ ।

२. नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरुका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा किसान आन्दोलनका महान नेता सहिद भिमदत्त पन्त, सहिद जय गोविन्द साह, मिटर ब्याज विरुद्ध आन्दोलनका प्रणेता दिवंगत रामवालक गुरु र मिटर ब्याज विरुद्धको आन्दोलनका सहिदहरु डाचाराज वाग्ले, विनित सोनार र भोगेन्द्र ठाकुर लगायत संघर्षका कार्यक्रमहरुका दौरान हत्या गरिएका र साहु महाजनहरुको शोषण तथा उत्पीडनका कारण आत्महत्या एवम् सामुहीक मृत्युवरण गरेका सम्पूर्ण पीडितहरुको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । उहाँहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन सदैव अविचलित रही मिटर ब्याज विरुद्धको निर्णायक संघर्षमा दिलो ज्यानले होमिने प्रतिबद्धता व्यक्त गर्दछ । 

३. जनवर्गीय आन्दोलनहरुसँगको सम्बन्धबारे ः मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनले लघुवित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन र भूमि अधिकार आन्दोलन, नेपाललाई मित्र आन्दोलनको रुपमा आवश्यक सहयोग तथा नीतिगत नेतृत्व प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । आन्दोलनको सहायक संगठन श्रमिक फोर्स नेपाल र सल्लाहकार समिति, नेपाल यी सबैखाले जनवर्गीय आन्दोलनहरुको साझा हिस्साको रुपमा रहनेछ । राष्ट्रको इतिहासका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीहरुलाई सम्मान गर्दै विद्यमान बेथिति र विसंगतिहरुका विरुद्धमा सामाजिक आन्दोलनको माध्यमबाट विद्रोही चेतको विकास गर्दै समन्यायीक समाज र किसान मजदुरहरुको बृहत्तर हित सुनिश्चित गर्ने राज्यप्रणाली स्थापीत गर्न सबैखाले आन्दोलनका प्रयासहरुलाई एकिकृत, संगठित र नीतिगत नेतृत्व प्रदान गर्न मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल समर्पित रहनेछ ।

४. अगामी कार्यक्रमहरु बारे ः साहु महाजन र राज्य प्रशासनको कुटपीट, बैधानीक अन्याय तथा सबैखाले हिंसामा परेका पीडितहरुको असल अभिभावक र न्यायीक संघर्षको प्रमुख सारथीको रुपमा यस आन्दोलनले भूमिका निर्वाह गर्दछ । देशैभरको सम्पूर्ण वित्तीय शोषण तथा उत्पीडनका सिकार भएका पीडितहरुको अधिकार र न्यायको निमित्त प्रतिबद्ध यस आन्दोलन सदैव संघर्ष गरीरहने छ । नेपाल सरकारले हामीसँग गरेका सबैखाले सहमतिहरुलार्ई कुनै धोखाधडी नगरी कार्यान्वयन गर्न निरन्तर जनदबाब सिर्जना गर्ने तत्कालीन कार्यदिशाको रुपमा मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन अगाडी बढ्नेछ । मिटर ब्याज समस्याको दिर्घकालीन समाधानको निमित्त भने आन्दोलनप्रतिको मास चिन्तन, सांस्कृतिक परिवर्तन, आत्मनिर्भरता प्रवद्र्धन, राजनीतिक चेतनाको विकास एवम् परिवर्तनकारी जनसंघर्षको विकास अत्यावश्यक रहेकोले यी सबै कार्यहरुलाई आफ्नो दिर्घकालीन नीतिको रुपमा ग्रहण गर्दैै रणनीतिक एवम् कार्यनीतिक तयारी गर्नु हाम्रो मुख्य उद्देश्य हो । 

निकै कष्टपूर्ण र जटील संघर्ष गरिरहँदा पनि मिटर ब्याज समस्या समाधान नहुनु, राज्यले मिटर ब्याजी अपराधीहरुलाई कारवाही गर्न नसक्नु र पीडितहरुको न्यूनतम अधिकार समेत सुनिश्चित गराउन नसक्नुले यस आन्दोलनको जीवन र संघर्षको अवधी एवम् परिधीबारे एकिन हुन नसक्ने विषय स्थापीत गरेको छ । तसर्थ, मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनलाई विशाल जनसहभागिताको संघर्षको रुपमा विकास गर्न सम्पूर्ण संगठन संयन्त्र लागिपर्नुको विकल्प छैन । यस आन्दोलन व्यक्तिगत सम्पत्ती, जीवनको स्तरोन्नती वा वैयक्तिक वृत्तिका लागि नभई समग्र सामाजिक न्याय तथा विकासको निमित्त समर्पित हुनेछ । माथि प्रयुक्त विषय र आवश्यकताहरु ध्यानमा राखी वैचारिक रुपमा स्पष्ट, सैद्धान्तिक रुपमा समृद्ध र जस्तोसुकै संघर्ष वा योगदान गर्न पूर्ण सामथ्र्यले आन्दोलनका आयामहरु विकास गर्ने कार्यमा यस आन्दोलन अटल प्रतिबद्धता व्यक्त गर्दछ । साथै, सम्पुर्ण श्रमजीवि मित्र, विद्वत् वर्ग, नागरिक अगुवा, राजनितीज्ञ, विद्यार्थी र आम न्यायप्रेमी समुदायलाई यस आन्दोलनमा सहभागी हुन तथा सम्पुर्ण रुपले सहयोग गरिदिनहुनका निम्ति हार्दिक अपिल गर्दछौँ ।

Pidit kisan.jpg