नेपाल राष्ट्र बैंकले बैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १,५०० वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैसँग राख्न सकिने जनाएको छ ।
वित्तीय सचेतनाका लागि जानकारी जारी गर्दै राष्ट्र बैंकले उक्त सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
त्यसैगरी आफ्नो पहिचान खुल्ने प्रमाण पेस गरी एक पटकमा अमेरिकी डलर ५ हजार वा सो बराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सकिन्छ ।
विदेशमा आर्जन गरेको प्रमाणित हुने कागजातसहित भन्सार उदघोषण गरी कानुनी रूपमा नेपाल भित्र्याइएको परिवर्त्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकै पटकमा सटही गर्न सकिने व्यवस्था रहेको छ ।
आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकहरूबाट उपहार, टिप्स आदि बापत प्राप्त भएको विदेशी मुद्रा एक पटकमा अमेरिकी डलर ५०० वा सो बराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा इजाजतपत्रप्राप्त मनिचेञ्चरहरूबाट समेत सटही गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता