मुलुकमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८० ८१ मा उनीहरूले ६४ अर्ब १५ करोड खुद नाफा गरेका छन् । अघिल्लो आर्थिक वर्षमा उनीहरुले ५६ अर्ब ५७ करोड नाफा गरेका थिए । जस अनुसार नाफा साढे ८ अर्ब अर्थात् १३.४ प्रतिशत बढेको देखिन्छ ।
गत आ।व।मा दश वटा वाणिज्य बैंकले नाफामा सुधार गरेका छन् भने १० वटा बैंकको नाफा घटेको देखिएको छ। सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ जसको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । सबैभन्दा कम मुनाफा माछापुच्छ्रे बैंकको १ अर्ब २५ करोड रहेको छ ।
त्यसैगरी ३ अर्बभन्दा माथि मुनाफा गर्ने बैंक १० वटा रहेका छन् भने १० वटा बैंकको मुनाफा ३ अर्ब भन्दाकम रहेको छ । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि प्रभु बैंकले गरेका छ ।
अघिल्लो आ. व. मा २८ करोड मात्र नाफा गर्न सकेको प्रभुले गत आ.व.मा ४ अर्ब ४८ करोड नाफा गरेको छ । यता एनआइसी एशियाको नाफामा गत वर्षको तुलनामा ठूलो गिरावट देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड नाफा कमाउन सकेको एनआइसीले गत वर्ष १ अर्ब ३८ करोड मात्र खुद नाफा आर्जन गर्न सकेको हो ।
नेपालपत्र संवाददाता