मंगलबार, कार्तिक ११ गते २०८३

मानव तस्करीमा संघको संलग्नता नरहेको दावी, अनुसन्धानमा सघाउने अध्यक्ष के.सी.को प्रतिवद्धता


श्रावण १८, २०८१ शुक्रबार
मानव तस्करीमा संघको संलग्नता  नरहेको  दावी, अनुसन्धानमा सघाउने अध्यक्ष के.सी.को प्रतिवद्धता


जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन के.सी.ले संघको लेटरप्याड र रबर स्ट्याम्प नक्कली बनाई गैर आवसीय नेपाली संघ(एनआरएन)ले जापानमा आयोजना गरेको सेमिनारमा सहकारी संघ\संस्थामा आवद्ध भए नभएका व्यक्तिहरु लैजान प्रयोग गरेको बताएका छन् । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी संघको लेटरप्याड र रबर स्ट्याम्प नक्कली बनाई यस्तो काम भएकोप्रति गम्भीर ध्यानकर्षण भएको उनले बताए । उनले  जिल्ला संघका सञ्चालक र पूर्व पदाधिकारीहरुले जापानमा भएको सेमिनारमा सहकारीकर्मी सहभागी गराउन संघको लेटरप्याड प्रयोग नगरेको समेत दावी गरे ।

सेमिनारमा सहभागि गराउने नाममा काभ्रे जिल्ला पाँचखाल नगरपालिका निवासी समिर लामाको हवाला दिँदै विभिन्न संचार माध्यममा आएका समचारप्रति संघको गम्भिर ध्यानकर्षण भएको उनको भनाई छ । सञ्चार माध्यममा यस्तो समचार आएपछि संघको आकस्मिक बैठक बसी अनुसन्धानमा दोषी देखिएका व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्नको लागि सघाउने निर्णय गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । यो विषयमा सत्य तथ्य पत्ता लगाउने उदेश्यले संघको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, महानगरिय प्रहरी वृत गौशाला र नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा गई अनुसन्धानलाई चुस्त दुरुस्त बनाउन बचन दिइएको समेत उनले बताए । हाल मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र समिर लामा भनिने व्यक्ति प्रहरीको हिरासतमा रहेको जानकारी आफुहरुले पाएको उनको भनाई छ । संघको नक्कली लेटरप्याडमा प्रोग्राम डाइरेक्टर भनी दस्तखत गर्ने प्रेम कुमार आलेको खोजी भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तो नक्कली प्रकरणले गर्दा सिंगो जिल्ला संघ, सहकारी अभियान र आम जनुसमुदायलाई नै चिन्तित बनाएको र यसले संघको विश्वसनियतामा समेत प्रश्न चिन्ह खडा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस प्रकरणमा प्रत्यक्ष तथा परोक्ष रुपमा जोडिएका दोषीहरुलाई कानुनी दायरामा ल्याई कडा सजायको लागि संघले माग गरेको छ भने किर्ते विरुद्ध कानुनी उपचारमा जाने समेत संघले जनाएको छ । आगामी दिनमा  यस्ता कार्य हुन नदिन संघ सचेत  रहने समेत विज्ञप्तिमा  जनाइएको छ । संंघ सम्पूर्ण सहकारी संस्थाको भरोसाको केन्द्रविन्दु रहेको र यो विषयलाई टुंगोमा पुन्याउन संघ लागि पर्ने अध्यक्ष के.सी.ले जनाए । संघले गलत कामलाई संरक्षण नगर्ने समेत उनले प्रष्ट पारे ।