नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।
समीक्षा अवधिमा सीडी रेसियो ७८.४७ प्रतिशत मात्र कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपो मार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।
नेपालपत्र संवाददाता