शुक्रबार, कार्तिक ७ गते २०८३

विनय वन्दन

श्रावण ९, २०८१ बुधबार
विनय वन्दन

आनिबानी आफ्ना आफ्ना कुरा आफ्ना नगर 
संगीतै पिच्छे सुर एकै कहाँ सुनिन्छ र?
फरक फरक मान्छे हामी  फरकै छन् सोच हाम्रा 
तैपनि भो नगर है दुई किनार हुने कुरा।

संगै बस्यौं भन्दै गर्दा अत्मा मिल्ने पनि होइन
मीठा शब्द बोल्ने जति सबै आफ्ना  हुने हैनन् 
सोचे जति सबै कुरा यहाँ कस्लाई पुगेको छ?
हाँसी हाँसी जीवन बाँचौ त्यति भए हुन्न र?

तिमी उड्ने आकाशमा थोरै ठाउँ देउ मलाई 
यो धर्तीमा तिमी संगै पाइला अटुन् मेरा पनि
तिम्रो खुसी भन्दा बढी मेरो अरु स्वार्थ छैन
तिम्रो साथ पाए पुग्छ अरु केही चाह छैन।

यो चोलाको भर छैन कैले हिँड्ने ठेगान छैन 
नाङ्गै आयौं हामी अनि केही पनि लानु छैन 
मुठ्ठी बाँधी आए सबै हात खोली जानु पर्छ
कुनै सानो यश कीर्ति यहाँ छाडी जानु पर्छ।

एक पाइला पछि पर्दा स्वाभिमान गिर्ने हैन
कैले अगि कैले पछि खासै फरक पर्नुहुन्न 
सिरान हाम्रा एकै थिए गोडाहरू जुधे होलान् 
फेरि पनि बिन्ति गर्छु जीवन संगै बिताईदिउँ न।