मुलुकमा विद्युतीय भुक्तानीको चलन बढ्दै गएको देखिएको छ । प्रविधिमा पहुँच बढेको, विभिन्न प्रकारका विद्युतीय भुक्तानी सेवाको उपलब्धता रहेको र सहज कारोबार हुने भएपनि विद्युतीय माध्यमबाट हुने कारोबारमा वृद्धि देखिएको हो । विद्युतीय भुक्तानी प्रणालीमध्ये पनि मोबाइल बैंकिङ र क्यू आर पेमेन्ट कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली शाखाले जारी गरेको २०८१ जेठ मसान्त सम्मको विवरणमा मोबाइल बैंकिङमार्फत ४ करोड ४३ लाख ७२ हजार पटक कारोबार भएको छ । २०८० असार मसान्तमा यस्तो कारोबारको संख्या २ करोड ९२ लाख पटक थियो भने २०७९ असार मसान्तसम्म २ करोड ५ लाख पटक भएको थियो ।
मोबाइल बैंकिङमार्फत हुने कारोबार २०७९ असारमा १६३ अर्बभन्दा बढी, २०८० असारमा २३३ अर्ब भन्दा बढी रहेकोमा २०८१ जेठ मसान्तसम्म ३५१ अर्ब भन्दा माथिको कारोबार भएको देखिन्छ ।
त्यसैगरी क्युआरमा आधारित भुक्तानीको संख्यामा पनि वृद्धि देखिन्छ । २०८१ जेठ मसान्तमा १ करोड ९८ लाख २० हजार पटक क्युआरमार्फत कारोबार भएको तथ्यांक छ । २०८० असारमा यस्तो संख्या ९७ लाख ६६ हजार थियो भने २०७९ असारमा ४२ लाख ८१ हजार रहेको थियो ।
कारोबार रकमका हिसाबले क्युआर मार्फत २०७९ असारसम्मा १४ अर्ब ५२ करोड माथिको कारोबार भएको थियो । २०८० असार मसान्तमा यस्तो कारोबारको रकम ३० अर्ब १४ करोड माथि पुगेकोमा २०८१ जेष्ठ मसान्तमा यस्तो कारोबार रकम ५३ अर्ब ८८ करोड माथि रहेको छ ।
साथै कनेक्ट आइपीएसमार्फत हुने भुक्तानी पनि गत वर्षको तुलनामा बढेको छ । २०७९ असारमा कनेक्ट आइपीएसमार्फत ३६९ अर्ब रुपैया माथिको कारोबार भएकोमा २०८० असारमा ४९८ अर्ब र २०८१ जेठ महिनामा कारोबार रकम ५६२ अर्ब पुगेको
विभिन्न वालेटमार्फत २०७९ असारमा १७ अर्ब कारोबार भएको २०८० असारमा २० अर्ब र २०८१ जेठमा २९ अर्ब माथिको कारोबार भएको तथ्यांक छ ।
नेपालपत्र संवाददाता