शनिबार, आश्विन १७ गते २०८३

विप्रेषण आप्रवाह १९ प्रतिशतले वृद्धि, १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

आषाढ २७, २०८१ बिहीबार
विप्रेषण आप्रवाह १९ प्रतिशतले वृद्धि,   १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

चालु आर्थिक बर्षको  जेठ सम्ममा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि  भएको छ ।नेपाल राषट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले विप्रेषण आप्रवाह निरन्तर वृद्धि भएको देखाएको छ ।  यस अवधिमा विप्रेषण आप्रवाह १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।

 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति   लिने नेपालीको संख्या ४ लाख २२ हजार९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।  समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१।९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालु खाता रु.२०० अर्ब ३९ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।  समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५।७ प्रतिशतले कमी आई रु.५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६५ करोडले धनात्मक रहेको  राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय स्थितिमा देखाउछ ।  यस अवधिमा  अवधिमा शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२२४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको धनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

८० असार मसान्तमा रु।१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७।८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रु.१९६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ सान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८६ प्रतिशतले वृद्धि भई रु२१४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति  १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । ०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । ०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५  प्रतिशत रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता