नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजार चलायमान बनाउनु वर्तमानको प्रमुख चुनौति भएको भन्दै सरोकारवालाको ध्यान त्यतातर्फ जानुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा महासंघद्वारा आयोजित छलफलमा धारणा राख्दै सर्वप्रथम उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्नेमा उनले जोड दिए । मौद्रिक नीतिले ब्याजदर कम गर्ने विषयको कार्यान्वयनका बारेमा बोल्नुपर्ने उनले जनाए ।
मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ भने त्यसलाई सम्बोधन गरिनुपर्ने र लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने उनले बताउ । पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र भएकाले पर्यटनको पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्न मौद्रिक नीतिका व्यवस्थामार्फत त्यस क्षेत्रमा कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्ने धारणाा उनको छ।
गत वर्षभन्दा कर्जाको व्याजदर घटेतापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भैरहेको छ । पुराना लगानीकर्ताले लगानी बढाउन र नयाँ व्यवसायी नयाँ लगानी गर्न सकेका छैनन् ।
बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरहरुमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तिय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्न तथा सहकारी र लघुवित्तमा आएको समस्याले अहिले रकम प्रवाह हुन नसकेको बिषयलाई पनि नीतिले समेटनुपर्ने उनले बताए । सेयर, घरजग्गा तथा गरगहना कारोबारलाई सहज बनाउन सके त्यसले बजार चलायमान बनाउन मदत पुग्ने उनले जनाए । ।
बैंक र व्यवसायी एउटै समस्यामा रहेकाे र बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिने हो कि भन्ने चर्चा हुन थालेको, खराब कर्जाको अनुपात बढिरहेको भन्दै उनलले वित्तीय क्षेत्रलाई जोगाउनुपर्ने मात्र हैन अगाडि बढ्न दिइनुपर्ने जनाए । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिको असर अहिलेसम्म परेकोले चालु पुँजी कर्जा सम्बन्धि व्यवस्थामा खुला छलफल हुनुपर्ने माग उनले राखे ।
दुइ बर्षयता अर्थतन्त्रमा संकुचन र सर्वसाधारणमा निराशा व्याप्त रहेको निक्कै जटिल समस्यासँग जुधिरहेको भन्दै उनले मुद्रास्फीति ४.४० प्रतिशत कायम रहेपनि अघिल्ला तीन बर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि भएकाले त्यसको असर रहिरहेको, समग्रमा कोभिडपछि बजार भाउ निक्कै बढेको तर सर्वसाधारणको क्रयशक्ति सोही अनुसार बढन नसकेको उनले औंल्याए । उद्यम व्यवसाय चल्न नसकेका कारण आम्दानी घटेको र त्यसले गर्दा नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न नसकेको अध्यक्ष ढकालले जनाए ।
विप्रेषण आप्रवाह १० महिनामै हालसम्मकै उच्च झण्डै १२ खर्ब पुगेको भएता पनि यसले नयाँ माग सिर्जना गर्न नसक्नु सोचनीय विषय भएको अध्यक्ष ढकालले औंल्याए ।
कोभिड अघि मासिक औसत १ खर्ब ६० अर्बको आयात भएकोमा अहिले एक खर्ब ३० अर्ब हाराहारी छ । आयात घटनु विदेशी विनिमय संचितिका लागि सुखद भएपनि यसले बजार चलायमान हुन नसकेको देखाएको उनले बताए ।
पर्यटन आगामन बढेको छ । तर विदेशिने विद्यार्थी र घुम्न जानेहरुबाट रकम पनि बाहिरिएको छ । तथापी विदेशी विनिमय संचिति साढे १९ खर्ब हाराहारी रहेको छ । संचिति सबल हुनु राम्रो भएपनि अत्यधिक संचिति हुनुले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गरेको उनले जनाए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष ढकालले समग्रमा मौद्रिक नीतिले कसरी बजारलाइ चलायमान बनाएर अर्थतन्त्रलाइ लयमा फर्काउन सकिन्छ भन्ने बारेमा ध्यान दिइनुपर्ने सुझाव दिएका थिए ।
नेपालपत्र संवाददाता