शनिबार, आश्विन १७ गते २०८३

अर्थतन्त्र कसरी चलायमान बनाउने भनेर मौद्रिक नीति तयार गर्दैछाैंः गभर्नर अधिकारी


आषाढ २१, २०८१ शुक्रबार
अर्थतन्त्र कसरी चलायमान बनाउने भनेर मौद्रिक नीति तयार गर्दैछाैंः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र कसरी चलायमान बनाउन सकिन्छ भनेर मौद्रिक नीतिको तयारी भइरहेको बताएका छन् । मौद्रिक नीति तर्जुमाको सन्दर्भमा राष्ट्रबैंकले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य विषय नै अर्थतन्त्रलाइ चलायमान बनाउनु रहेको जनाए ।
 
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले गर्न सक्ने हदैसम्मको प्रयास गर्ने भन्दै उनले मौद्रिक नीति कुनै जादुको छडी भने नभएको र यसैले सबै निको पार्छ भन्ने भ्रममा पनि पर्न नहुने उल्लेख गरे । 

व्यवसायीको मनोबल र कर्जा तिर्न सक्ने क्षमतामा पनि कमी देखिएको र बैंकहरु नयाँ कर्जा दिन समेत डराएको भन्दै अधिकारीले राष्ट्र बैंक सकेसम्म सहजीकरण गरेर जाने पक्षमा रहेको सुनाए । कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरुले राष्ट्र बैंकले आगामी वर्ष अर्थतन्त्र चलायमान बनाउने गरी खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।

राष्ट्र बैंकले निजी क्षेत्रका व्यवसायी, बैंकर र अन्य सरोकारवालालाई समेत बोलाएर मौद्रिक नीति तर्जुमाको लागि छलफल गरेको थियो।