बुधबार, भाद्र ३ गते २०८३

सहकारी अभियानले मात्रै अहिलेको समस्या समाधान गर्न सक्दैन, राजनीतिक दलहरुले पनि सहजिकरण गर्नुपर्छ

आषाढ २१, २०८१ शुक्रबार
सहकारी अभियानले मात्रै अहिलेको समस्या समाधान गर्न सक्दैन, राजनीतिक दलहरुले पनि सहजिकरण गर्नुपर्छ

सहकारी क्षेत्र चुनौतिपूर्ण मोडबाट गुज्रिरहेको छ, यस्तो बेलामा महासंघ कसरी अगाडि बढिरहेको छ ?

बेला बेलामा यस्ता चुनौतिहरु हरेक क्षेत्रमा आउँछन् । अहिले  सहकारी क्षेत्रमा देखिने गरेर चुनौति आएको छ । नेपालमा मात्रै होइन, विश्व नैं अहिले आर्थिक चुनौतिबाट गुज्रिरहेको अवस्था छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि त्यसको सामना गरिरहेका छन् भने निजी क्षेत्रमा पनि मन्दीको असर देखिएको छ । विश्वमा आएको आर्थिक मन्दीसँगै कोभिड १९ र रुस युक्रेन युद्धका कारण मुलुकको अर्थव्यवस्थामा पनि प्रभाव पर्दा सहकारी संस्थाहरुले गरेको लगानी समयमा असुली  हुन सकेन । जसले गर्दा कतिपय सहकारीमा तरलता समस्या भयो र सदस्यहरुले मागेजति बचत फिर्ता दिन सकेनन् । अर्कोतर्फ सहकारीकर्मीहरुले पनि संस्थामा बचतको रुपमा जम्मा भएको पुँजीलाई अचल सम्पत्तिमा लगानी गरे । विगतको जस्तै सहज अवस्था थियो भने सम्पत्ति बेचविखन गरेर पनि सदस्यको बचत फिर्ता गर्न सक्ने आस्था  रहन्थ्यो । आर्थिक मन्दीका कारण समयमा घरजग्गा विक्री गर्न नसक्दा सहकारी संस्थाहरुमा चुनौति थपिएको छ । 

यो चुनौतिलाई कसरी समाधान गर्न सकिन्छ भनेर हामीले सरकारसँग नजिक भएर काम गरिराखेकाछौं । मेरो अध्यक्षतामा महासंघमा नयाँ सञ्चालक समिति चुनिएर आएसँगै पहलो पटक सरकारकै नेतृत्वमा ‘पोलिसी डाइलग’ कार्यक्रम ग¥यौं । उक्त कार्यक्रममा मन्त्रालयका सचिव, सहकारी विभागका रजिष्ट्रार, महासंघका पूर्व अध्यक्ष र नयाँ सञ्चालक समितिका साथै केन्द्रीय सहकारी संघका प्रतिनिधिहरु सहितको छलफल गरेर हामीले एउटा निचोड निकाल्यौं । अहिलेको विषम परिस्थितिबाट सहकारी अभियानलाई बाहिर निकाल्न सरकार र अभियानले यी यी कदम चाल्ने  भनेर निष्कर्षमा पुग्यौं । अभियानको तर्फबाट माग भएका र ऐनकानुनमा भएका व्यवस्थाहरुलाई सरकारले  तत्काल लागु गर्ने र महासंघले तल्लोतह देखिनै सहकारी संस्थालाई सुशासन, पारदर्शिता कायम गराउने तथा एकीकरणमा लैजान पहल गर्ने गरी अगाडि बढने निचोड निकालेका थियाैं। त्यसैगरी स्वनियमन र स्वः अनुशासनमा संस्था सञ्चालनका लागि अभिप्रेरित गर्न जिल्ला तह, प्रदेश र केन्द्रीय संघ तथा  महासंघ लाग्ने उक्त कार्यक्रमबाट मार्गनिर्देशन भएको थियो । सहकारी संस्थाहरु सिद्धान्त अनुसार सञ्चालन भएका छन् कि छैनन्, समयमा साधारण सभा गरेका छन् कि छैनन्, लेखा परिक्षण गराएका छ कि छैन यी  कुराको अध्ययन गर्ने र संस्थाहरुलाई त्यसअनुरुप सञ्चालन गर्न अभिप्रेरित गर्ने नीति हामीले लिएका छौं । 

त्यसैगरी सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल बनाएको थियो । उक्त कार्यदलले सहकारीका समस्या समाधान गर्न अल्पकालिन, मध्यकालिन र दिर्घकालिन सुझाव दिएको थियो । उक्त सुझावलाई कार्यान्वयन गर्न सघाउन हामीले नेतृत्व लिने समझदारी बनेको थियो । हामीले छलफल गरेका विषयहरुलाई अहिलेको बजेटले पनि समेटेको अवस्था छ । गत बर्षको बजेटमा महासंघको नाम नै काटिएको थियो । अहिलेको बजेटमा सातै प्रदेशमा गोष्ठी गर्नको लागि बजेट छुट्याइएको छ । महासंघ र मन्त्रालयले संयुक्त रुपमा सातै प्रदेशमा सहकारी गोष्ठी गर्नेछ । गत बर्ष महासंघले सहकारी महासम्मेलन गरेको थियो । हरेक ५ बर्षमा सहकारी महासम्मेलन गर्ने योजना अनुरुप गत बर्ष तेस्रो महासम्मेलन गरिएको हो । उक्त सम्मेलन मार्फत ३१ हजार सहकारी संस्थालाई १० हजारमा झार्ने लक्ष्य लिएका छौं । सोही अनुरुप यस बर्षको सहकारी दिवसको थिम‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भनेर अगाडि सा¥यौं ।

अब सहकारीलाई प्रविधिमा लैजानुपर्छ भनेर केही समय अगाडि ‘फस्ट कोअपरेटिभ डिजिटल  कन्क्लेभ’ गर्यौ । सहकारीमा समस्या देखिनुको एउटा कारण सहकारी संस्थामा स्तरीय सफ्टवेयर प्रयोग नहुनु पनि हो । सहकारी संस्थाहरुले नयाँ नयाँ प्रविधिलाई आत्मसात गर्न नसक्नु अर्को समस्या हो । म्यानुयल हिसाबकिताव राखेका कतिपय सहकारी संस्थामा अंकलाई तलमाथि पारेको समेत भेटिएको छ भने गुणस्तरीय सफ्टवेयरको अभावमा कतिपय संस्थाले कारोबारलाई मोडिफाइ समेत गर्ने गरेको पाइएको छ । अब न्युनतम मापदण्ड पुगेका सफ्टवेयर मात्र सहकारी संस्थाले प्रयोग गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । यसका लागि हामीले सरकारसँग लबिइङ गर्दै आएका छौं । एउटै मात्र सफ्टवेयर प्रयोग गर भन्दा यसले गलत अर्थ लाग्छ तर न्यूनतम मापदण्ड पूरा गरेको सफ्टवेयर मात्र सहकारीले प्रयोग गनुपर्छ भन्ने मलाई लाग्छ ।

सहकारीले युवालाई समेट्नुपर्छ र प्रविधिमा गएपछि मात्रै युवाहरु यसतर्फ आकर्षित हुन्छन् । जसरी बैकिङ्ग कारोबार मोबाइलबाट गर्न सक्छन् त्यस्तै सुविधा सहकारीले पनि दिनसक्यो भने युवा पुस्ता पनि सहकारीमा आकर्षित हुने वाताबरण बन्छ । सहकारीमा युवाले भविष्य देख्ने वातावरण बनाउनै पर्छ । त्यसका लागि सहकारीहरु एकीकरणमा जान तयार हुनुपर्छ । एकीकरणले संस्थाको कारोबारमा वृद्धि हुन्छ, लागत घट्छ र नाफा बढ्छ । यसले नयाँ नयाँ सेवा सदस्यहरुलाई प्रदान गर्न  सहयोग पुग्छ । अहिले धेरै सहकारी संस्था भएकाले सुशासनमा लैजान समस्या देखिएको छ । सहकारी स्वनियम र सुशासनमा चल्ने संस्था भनिए पनि व्यवहारमा त्यो देखिएन । आर्थिक कारोबार गर्ने संस्थाहरुलाई स्वनियमनमा चल्ने संस्थाको रुपमा मात्र छाड्नु हुँदैन भन्ने मेरो पनि बुझाई छ । 

त्यसैगरी सहकारी ऐन संसोधनदेखि सहकारी प्रवर्धन कोषको परिचालनका लागि पनि सरकारसँग लबिङ्ग गर्दै आएकाछौं । प्रवर्धनको कोषको नियमावलीमा कतिपय कुरा नमिलेकाले क्याविनेट मार्फत परिवर्तन गर्न हामी लागि परेका छौं । बैंकमा राखिएको ५ लाखसम्मको निक्षेपको  मात्र बीमा हुन्छ तर पनि ग्राहकहरुले सुरक्षित महशुस गर्दछन् । त्यसैगरी सदस्यहरुले सहकारीम गरेको बचत सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउन बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनमा ल्याउन आवश्यक छ । यो व्यवस्था तत्काल लागू गर्न हामीले मन्त्रालयलाई भन्दै आएका छौं । मन्त्रालयले बचत तथा कर्जा सुरक्षण कोषको कार्यविधि हामीलाई बनाएर ल्याउन भनेकाले २ जना विज्ञ हायर गरेर कार्यविधि बनाएर मन्त्रालयमा बुझाइसकेका छौं । अहिले भइराखेको कर्जा सूचना केन्द्रमा सहकारीलाई पनि जोडेर जानुपर्छ भनेर हामीले भनेका छौं  । एउटा व्यक्तिले लघुवित, बैंक, फाइनान्स र सहकारी जहाँँबाट ऋण लिएको भए पनि अहिलेकै कर्जा सूचना केन्द्रबाट हेर्न सजिलो हुने भएकाले यसमा नै जोडेर जान हामीले माग गरेका हौं । । मन्त्रालयले सूचना केन्द्रको पनि खाका ल्याउन भनेपछि हामीले विज्ञ हायर गरेर यस्तो किसिमको सूचना केन्द्र बनाउँदा हुन्छ भनेर मन्त्रालयलाई सुझाव दिइसकेका छौं । कर्जा सूचना केन्द्रमा यी यी कुरा समावेश भएमा अहिलेकै संरचनामा सहकारी पनि जोडिन सक्ने भनेर हामीले सुझाव दियौं । 

सहकारीहरुले लगानी गरेको पैसा नउठेसम्म सदस्यहरुको बचत फिर्ता गर्न सक्ने अवस्था अहिले छैन। त्यसका लागि सहकारी संस्थाहरुलाई पनि कर्जा असुली न्यायधिकरण आवश्यक परेको छ । यसका लागि सरकारले बजेट व्यवस्था गरिसकेको छ । त्यसमा अध्यक्ष को बन्ने भन्ने विषय टुङ्गोलाग्न सकेको छैन । अहिलको विषम परिस्थितिमा यी यी कदम चालेर अगाडि बढ्नुपर्छ भनेर सरकारलाई भन्दै आएका छौं । दोस्रो तहको नियामक निकाय हामीले पहिलेदेखि नै माग गर्दैै आएको विषय हो । यी कुराहरुलाई सरकारले कार्यान्वयन गरिदिने हो भने सहकारीका समस्या क्रमशः समाधान हुँदै जान्छन् । सरकारले सहकारीका सञ्चालक र एकाघरका परिवारको धितो लिएर ऋण दिने र ५ लाखसम्मको बचत फिर्ता गर्ने विषय बजेटले बोलेको छ । सरकारले बोलेको कुरा कार्यान्वयनमा आयो भने सहकारीको धेरै समस्या हल हुन्छ । यसले सहकारीप्रति विश्वासको वातावरण सृजना हुन्छ । सहकारीको जिम्मेवारी सरकारले लिने रहेछ र यो यो कुरा लागू भएछ भन्ने सन्देश बाहिर गएपछि सहकारीमा आम मानिसले विश्वास गर्छन् र विगतमा जस्तै कारोबार बढ्न जान्छ । यी विषयमा महासंघले निरन्तर लविङ गरिराखेको छ। 

सहकारीको विषयमा सडकदेखि सदनसम्म आवाज उठिराखेको छ, अहिले बचत फिर्ता नै मुख्य चुनौतिको विषय  बनेको छ, यसलाई कसरी समाधान गर्न सकिन्छ ?

ओरेन्टल सहकारी समस्यामा परेपछि संस्थाका अध्यक्ष सुधिर बस्नेतले सहकारीको नाममा भएको सम्पत्ति बेच्यो भने सबै सदस्यको बचत फिर्ता गर्न सकिन्छ भनेर भनेको हामीले सुनेका हौं । तर बस्नेतलाई  केहि समय थुन्ने र फेरि छाडिदिने क्रम चलिराखेको छ । पटकपटक थुन्ने छाड्ने गतिविधि  किन भइराखेको छ ? ओरेन्टलको सबै सम्पत्ति समयमा नै विक्री गरेको भए सबै बचतकर्ताको पैसा फिर्ता गर्न पुग्थ्यो ।  आर्थिक मन्दी भएकाले अहिले त सम्पत्ति बिक्री नहोला । सधैं आर्थिक मन्दी रहिरहँदैन । एक÷दुई बर्षपछि अर्थतन्त्रले पहिलेकै गति लिन सक्छ । त्यस पछि ओरेन्टलको सम्पत्ति बेचेर सदस्यको बचत फिर्ता गर्न पुग्छ भन्ने मलाई लाग्छ । तर सरकारले किन जिम्मेवारीपूर्ण नेतृत्व लिइराखेको छैन आफैमा एउटा प्रश्नचिन्ह बनेको छ । ओरेन्टल सहकारीकै लागि पहिलो पट क समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनेको हो । तर दश बर्ष बित्दा समेत किन ओरेन्टलको समस्या समाधान भएको छैन । सातसय पीडित बचतकर्ताले एक लाख भन्दा कम रकम पाइसकेको भनिएको छ । सरकारले भएको सम्पत्तिलाई नियमसंगत विक्री गर्यो भने बचत फिर्ता गर्न पुग्छ भन्ने मेरो ठम्याई रहेको छ । त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। 

अर्कोतर्फ माइतीघर मण्डलामा एकडेढ बर्षदेखि सहकारी पीडित बचतकर्ताले आन्दोलन गर्दै आएका छन् । सरकारले पीडित बचतकर्ताहरुसँग पटकपटक सम्झौता गर्दै आएको छ । प्रधानमन्त्री स्वयंले पनि सहकारीको समस्या समाधान गछौं भनेर बोलिराख्नु भएको छ । सरकारले पीडितसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुने कुरा दुखद हो । हामीले विभागीय मन्त्रीलाई भेटेर बारम्बार झकझक्याउने काम गर्दै आएका छौं । सहकारी अभियानले मात्रै अहिलेको समस्या समाधान गर्न सक्ने अवस्था छैन त्यसैले राजनीतिक दलहरुले पनि जिम्मेवारी लिइदिनु प¥यो भनेर आफुले चिने जानेका नेताहरुलाई भन्दै आएकी छु । सहकारीले पनि सरकारलाई अर्बाैं कर तिरेका छन् । नागरिकले पनि कर तिर्ने भएकाले जनताको बचतको सुरक्षा गरिदिनु राज्यको पनि दायित्व हो । सरकारले ५ लाख सम्मको बचत फिर्ता गर्न सघायो भने धेरै बचतकर्ताले न्याय पाउछन् भन्ने मलाई लाग्छ । सदस्यले गाँस कटाएर सहकारीमा गरेको बचत फिर्ता दिनुपर्छ भन्नेमा महासंघ स्पष्ट छ । यसले पीडित सदस्यहरुलाई न्याय मिल्छ ।

अस्थिर राजनीतिका कारणले गर्दा पनि सहकारीका समस्या समाधानमा ढिलाई भइराखेको छ । कोही मन्त्रीले यो जिम्मेवारी हो भनेर आत्मसात गरिदिनुहुन्छ भने कोही मन्त्रीले गर्नुहुन्न । मन्त्रीज्युहरुले यो मेरो काम हो भनेर गरिदिनु प¥र्यो । यो पार्टीको काम होइन । यो काम मेरो हो भनेर सोच्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरुलाई मेरो आग्रह छ । हामीले के कति गर्न सक्यौं आफनो ठाउँमा छ तर हामीले निरन्तर लबिङ भने गर्दै आएका छौं । जति विषयहरु हामीले उठाएका छौं, ती विषय कार्यान्वयन हुन सकेका छैनन् । यो दुखको कुरा हो । बचतकर्ताको बचत फिर्ताका लागि कर्जा असुली न्यायधिकरण आवश्यक छ । त्यो आउन सक्यो भने सदस्यहरुमा कर्जा तिनुपर्छ  नत्र कालो सूचीमा परिन्छ भन्ने भावनाको विकास हुन्छ र सहकारी संस्थाहरुले गरेको लगानी असुली हुन्छ ।

हामीले बारम्बार सरकारलाई सहकारीले गरेको ऋण असुली गर्न सघाउन भन्दै आएका छौं । कतिपय व्यक्तिले सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भनेर अफवाह फैलाएकाले असुलीमा समस्या भइराखेको छ । यसमा सरकारको ध्यान जान आवश्यक छ । अफवाह फैलाउनेलाई समयमा कारवाही गर्नुपर्छ । अर्कोतर्फ सरकारले पनि सदस्यहरुलाई लिएको ऋण चुक्ता गर्न दवाव दिने खालका सूचनाहरु बारम्बार जारी गरिदिनुप¥यो । सातै प्रदेश र संघीय सरकारले पनि पटकपटक सहकारीबाट लिएको ऋण चाडो भन्दा चाडो तिर्न आव्हान गर्नुप¥यो । ऋण नतिर्ने सदस्यहरुलाई सामाजिक रुपमा बहिष्कार हुन्छ, स्थानीय सरकारले दिने सेवा तथा सुविधामा रोक लाग्छ भनेर सरकारले बोलिदिनुप¥यो । यसो भयो भने सहकारीका सञ्चालकको आत्मबल बढेर जान्छ र सदस्यहरुलाई ऋण तिर्न दवाव पर्छ । यसले अहिलेका आधा समस्या हल भएर जान्छन् । 

सदस्यको बचत  फिर्ता गर्न नसकेका सहकारी संस्थाहरु एकपछि अर्को गरी सरकारले समस्याग्रस्त घोषणा गर्दै आएको छ, तर समस्याग्रस्त घोषणा गर्दैमा सदस्यले बचत फिर्ता पाउने अवस्था भने देखिँदैन ? विकल्प के हुन सक्छ ? 

सहकारीमा सदस्य नबनाई हामीले कारोबार ग¥यौं कि भन्ने प्रश्न उठेको छ । अर्कोतर्फ सदस्यले पनि सहकारी नबुझी ब्याजको लागि मात्र बचत गरेको पाइएको छ । सदस्य नबनीकन बढी ब्याजको लागि सहकारीलाई प्रयोग गरेको भन्दा फरक पर्दैन । सहकारीमा सदस्य किन बन्ने ? सदस्यको संस्थामा के भूमिका हुन्छ भनेर नबुझीकन ब्याजको लोभमा सहकारीमा बचत गर्नुहुँदैन । बैंक र सहकारीमा कारोबार गर्दा आकाश जमिनको फरक छ । सहकारीमा सदस्य बनेपछि संस्थाको हरेक पक्षमा साथ दिन्छु, संस्थाको नाफा र घाटा दुबैको हिस्सेदार बन्न तयार छु, संस्था घाटामा गए मेरो शेयरबाट तिर्न तयार छु भनेर सदस्य बन्ने हो । तर यो कुरा सदस्यले बुझेनन् । अब हामीले सहकारीको बारेमा साक्षर नबनाइकन सदस्य बनाउनु हुँदैन । सहकारीमा किन सदस्य बन्ने र सदस्य बन्दाको फाइदा के हुन्छ भनेर बुझाउनुपर्छ । सदस्यहरुले पनि फाइदाको लागि मात्र सहकारीम बचत गर्नु भएन । अहिले संस्था बन्द गरेर सञ्चालकहरु भागेर हिँडेका छन् भने त प्रहरीकहाँ उजुरी हाल्न जानुप¥यो । तर जुन संस्था नियमित खुला छ सदस्यहरुलाई १ हजार भए पनि दैनिक रुपमा दिइराखेको छ भने अहिले नै अनेक बहाना गरेर १ लाख माग्नु भएन ।

सहकारीमा बचत र लगानीको अवस्था कति छ, के कारणले हामीले बचत फिर्ता पाउन सकेनौं भनेर सञ्चालकहरुलाई सोध्नुपर्छ । हरेक सहकारीका सदस्यलाई संस्थाको हिसाबकिताव थाहा पाउने अधिकार छ । बचत र लगानीको रेसियो मिल्छ भने सदस्य डराउनु पर्दैन र संस्थालाई सहज रुपमा काम गर्ने वातावरण दिनुपर्छ । एकमुष्ट बचत फिर्ता माग्ने भन्दा पनि किस्तामा पैसा झिक्ने हो कि ? सञ्चालकहरुले बदमासी गरेको छैन र घरजग्गामा लगानी गरेका कारण बचत फिर्ता गर्न सकेको छैन भने अचल  सम्पत्ति लिइदिएर सहयोग गरिदिने हो कि ? त्यसतर्फ पनि सोचिदिन म सदस्यहरुलाई आग्रह गर्दछु । अहिले सम्म २१ सहकारी संस्था समस्याग्रस्त घोषणा भइसकेका छन् । त्यस मध्ये ३ वटा सहकारी संस्थाको बचत फिर्ता भइसकेको अवस्था छ ।

कोशी प्रदेशमा ३ वटा, गण्डकी प्रदेशमा ८ वटा र बागमती प्रदेशमा ४४ वटा संस्था समस्यामा परेका छन् । समस्याग्रस्त भएका संस्थाहरुबाट एक रुपैया पनि बचत फिर्ता आउँदैन भन्ने होइन । सहकारी संस्थाले अचल सम्पत्तिमा लगानी गरेको छ भने ढिलो चााडो बचत फिर्ता पाउँछन् । तर त्यसका लागि संस्थाहरुलाई समय दिनुपर्छ । तर जसले कम्पनीमार्फत् अन्धाधुन्द लगानी गरेको छ भने त्यो पैसा फिर्ता आउने सम्भावना न्युन देखिन्छ । १८ वटा समस्याग्रस्त सहकारी मध्ये २÷३ वटा संस्थाको बचत फिर्ता आउने सम्भावना कम देखिएको छ । लगानीको क्षेत्र र लगानी प्रक्रिया कच्चा देखिन्छ । त्यसबाहेकका सहकारी संस्थाबाट सदस्यले बचत फिर्ता पाउने सम्भावना बलियो छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पनि संस्थाहरुको अवस्था अध्ययन गर्ला । बचत र ऋणको अवस्था के छ भनेर रिपोर्ट बनाउला । तर समस्याग्रस्त हुँदैमा सहकारी संस्था सकियो र सदस्यले एक रुपैया पनि फिर्ता पाउदैनन् भन्ने होइन । 

अर्कोतर्फ, सहकारी दर्ता गर्ने, सेवा केन्द्र दिने र नियमन तथा अनुगमन गर्ने काम सरकारको भएकाले सहकारीकर्मीलाई मात्र दोष दिएर उम्किन मिल्दैन ।  सहकारीकर्मीले गल्ती गर्दा कारवाही हुन्छ तर मनपरी दर्ता गर्ने र जथाभावी सेवा केन्द्र दिनेलाई काननु लाग्दैन ? यसको मतलब सबै रजिष्ट्रारले नराम्रो गरे भन्न खोजेको होइन । हामीले सेवा र उत्पादनमा जाने सहकारीलाई मात्र देशभर कार्यक्षेत्र दिनुपर्छ भनेका छौं । तर बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई नै किन देशभर कार्यक्षेत्र दिएको ? बचत तथा ऋणको कारोबार गर्ने सहकारीका अध्यक्ष देखि सबै सञ्चालकहरु सदस्यहरुले चिन्नुपर्छ भनिन्छ ।

काठमाडौंको मान्छेलाई बिराटनगरमा गएर सहकारी खोल्न किन दिने ? काठमाडौंको मान्छे बिराटनगर गएर सहकारी खोल्छ भने बिराटनगरको मान्छेले कहाँ गएर सहकारी खोल्ने ?  सहकारी ऐनमा सेवा केन्द्र खोल्न सदस्य संख्या, पुँजी लगायतका थुप्रै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । तर ती कुरा पुरा नगरीकन राजनीतिक तथा सामाजिक प्रतिष्ठा, सरकारी कर्मचारीसँगको साँठगाँठ र पहुँचका भरमा सेवाकेन्द्र दिइएको छ । यो गलत हो । जथाभावी सेवा केन्द्र र सहकारी दर्ता दिनेलाई कानुन नलाग्ने तर सहकारीकर्मीलाई मात्र कानुन लाग्छ भने यो कस्तो नियम हो । आज १÷२ प्रतिशत सहकारीले बदमासी गर्दा हामी जस्ता सबै सहकारीकर्मी नाक खुम्च्याएर हिड्न परेको छ । गलत काम गर्ने सरकारी कर्मचारीलाई कानुनी दण्डसजाय भयो भने सहकारी अभियानले पनि सच्चिने मौका पाउँथ्यो होला । सबै सहकारीलाई समस्याग्रस्त घोषणा मात्र गरेर समस्या समाधान हुँदैन । निश्चित समय दिएर सदस्यहरुको बचत फिर्ता गर्ने वातावरण बनाइदिनुपर्छ । सबै सहकारी संस्थाले यस्तो अवस्थामा सदस्यको पैसा एकैपटक फिर्ता गर्न सक्दैनन् । 

पछिल्लो समय सहकारीकर्मी भनेको ठग नै हुन भन्ने भाष्य सृजना भएको छ, के सबै सहकारीकर्मी तेस्तै हुन त ? 

यो विषयमा महासंघको ध्यानकर्षण भएको छ । मुलुकभर ३१ हजार ३७३ सहकारी संस्था रहेका छन् । जसमध्ये केही सहकारी संस्था मात्रै समस्यामा परेका छन् । अहिलेसम्म ५० वटा जिल्लाका सहकारीमा कुनै समस्या आएको छैन । एक डेढ प्रतिशत सहकारी समस्यामा परेका होलान् । अहिले ठुलो कारोबार गर्ने सबै सहकारी सकियो भनेर प्रचार गरिएको छ, यो पनि गलत हो । झापामा १६ अर्ब माथि कारोबार गरिरहको सहारा सहकारी छ । एनएमसी बहुउद्देश्यीय, मेची जस्ता ठुलो कारोबार गर्ने सहकारी पनि धेरै छन् । मेचीले सस्तो मुल्यमा ५८ वटा घर निमार्ण गरी सदस्यलाई हस्तान्तरण गरिसकेको छ भने फेरी नयाँ परियोजना सञ्चालन गर्दैछ । एनएमसीले मात्रै ११ सय व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ । त्यसैले सबै सहकारी ठग र बदमास हुन् भन्नु गलत हो । समुदाय र सदस्यहरुलाई ठुलो योगदान पु¥याएका सहकारीहरु पनि समाजमा प्रशस्तै छन् ।

मुलुकमा १८ वटा विषयगत केन्द्रीय संघ छन् । त्यस बाहेक १७ वटाले बचत ऋण बाहेकको क्षेत्रमा काम गरिराखेका छन् । ५ सय भन्दा बढी साना तथा मझौला उद्योग सहकारीले सञ्चालन गरेका छन् । सहकारीले २५ भन्दा बढी चिया उद्योग सञ्चालन गरेका छन् । आज पनि सहकारीले उत्पादन गरेको चिया कफी विश्व बजारमा पठाइराखिएको छ । सरकारले सहकारीलाई टे«डमार्क नदिदाँँ निजी कम्पनी मार्फत चिया कफी निर्यात भइराखेको छ । सहकारीले तल्लो तहका जनतालाई वित्तीय सेवा प्रदान गर्दै आएको छ भने ग्रामीण महिलाहरुलाई आर्थिक तथा सामाजिक सशक्तिकरणमा समेत टेवा पु¥याएको छ । बैंक तथा वित्तीय संस्थाले नपत्याएका जनतालाई सहकारीले ऋण दिएर उनीहरुको जीवनस्तर परिवर्तन गरिदिएको छ । नेतृत्व विकासमा पनि सहकारीको भूमिका महत्वपूर्ण रहेको छ । आज सहकारीकै माध्यमबाट घुम्टो प्रथाको अन्त्य गरेर नेतृत्व विकास गरी वडा अध्यक्ष, मेयर उपमेयर जस्तो पदमा पुग्न सहयोग पु¥याएको छ । सहकारी क्षेत्रले गरेको सबै गुणलाई बिर्सिएर सहकारी भनेको ठग नै हो भन्नु गलत हो । यो शब्दलाई अब बन्द गनुपर्छ । कतिपयले जानेर वा नजानेर त कतिपयको ठूलो महत्वकांक्षाले गलत गरेका छन् । गलत गर्नेलाई कानुनको दायरामा ल्याइ कारवाही गर्नुपर्छ । बचतकर्ताको बचत फिर्ता गर्न सरकारसँग हातेमालो गरेर हामी अगाडि बढिराखेका छौं । पीडित बचतकर्तालाई न्याय दिलाउन महासंघ सधैं तत्पर छ । 

सहकारी महासंघ देशभर भएका सहकारी संस्थाहरुको सर्वोच्च निकाय भए पनि महासंघले भूमिकाप्रति सहकारीकर्मी सन्तुष्ट छैनन् नि ? महासंघ सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गर्न चुकेकै हो त ? 

सहकारीकर्मीले अहिले मात्रै होइन, पहिलादेखि नै यो कुरा भन्दै आएका छन् । तर सहकारी अभियानका हरेक एजेण्डामा महासंघले आवाज उठाउँदै आएको छ । बजेटमा सहकारीका कुरा कसरी समावेश भयो ? त्यसमा महासंघ चुकेको हो त ? महासंघले लबिङ नगरेको भए बजेटमा यी कुरा कसरी आउने थिए । बैंकहरु मर्जमा जाँदा ३ बर्षको कर छुट हुन्छ, त्यसैगरी एकीकरणमा जाने सहकारीलाई ५ बर्षको कर छुट गर्न हामीले माग गरेका छौं । यी सबै कुरामा महासंघले नै नेतृत्व गरेको छ । सरकारसँग पोलिस डाइलग महासंघले नै गरिराखेको छ । दुग्ध सहकारीले दुधको पैसा नपाएर आन्दोलन गरेपछि हामीले विज्ञप्ति निकालेर तत्काल रकम भुक्तानी गर्न दवाव दियौं । हामीले लविङ गरेर रजिष्ट्रारलाई सहकारीको ऋण चुक्ता गर्ने सूचना निकाल्न लगायौं । महासंघ सहकारी अभियानको नेतृत्व गर्न चुकेको जस्तो मलाई लाग्दैन । महासंघ चुक्यो भनेर मात्रै भएन, के कुरामा चुक्यो स्पष्ट भन्नुपर्यो । 

सहकारी ऐनमा भएका व्यवस्था कार्यान्वयन गराउने कुरामा महासंघको भूमिका कमजोर देखियो नि ? 

हामी चुप लागेर बसेका छैनौं । सहकारीका समस्या समाधानमा हामीले सरकारलाई झक्झक्याई राखेका छौं । सहकारी ऐन २०७४ र नियमावली २०७५ आएदेखि नै महासंघले ऐन कार्यान्वयनका लागि सरकारलाई दवाव दिँदै आएको छ । यो बीचमा कति मन्त्री फेरिए तर हामीले उठाएका कुरा कार्यान्वयन हुन सकेको छैन । सहकारीका लागि ४७ वटा कानुन बाधक छन् भनेर आवाज उठाउँदै आएकोमा नेपाल ऐन संसोधनमार्फत जम्मा एउटा ऐनमात्र संशोधन भएको छ । अझै ४६ वटा ऐन संसोधन हुन बाँकी छ । म अध्यक्ष भएपछि विभागीय मन्त्रीलाई महासंघको बैठक हलमा बोलाएर दुई घन्टा समसामयिक विषयमा छलफल गर्यौं । ४६ वटा ऐन संसोधन गर्ने विषययमा म आफैं कानुन मन्त्री पदम गिरीकहाँ ५ पटक गइसकेँ । मन्त्री ज्युले आफ्नो कार्यकालमा ४६ वटा ऐन संसोधन गरिदिने बचन दिनुभएको छ । महासंघले काम नै गरेन र जिम्मेवारीबाट पछाडि हटेको भन्न मिल्दैन । महासंघले लविङ गर्दा गर्दै पनि सरकारले ऐनमा भएका व्यवस्था कार्यान्वयन गरिदिएन भन्न मिल्छ । 

तपाईंको चार बर्षे कार्यकालमा नेपालको सहकारी अभियानलाई कस्तो बनाउने र कहाँ पु¥याउने भनेर सोच्नु भएको छ ? 

धेरै कुरा बोलेर भन्दा पनि कामले प्रमाणित गर्ने हो । अर्कोतर्फ महासंघमा यो गर्छु, त्यो गर्छु भनेर भनिराख्नुपर्छ जस्तो पनि लाग्दैन । मलाई महासंघमा टपक्क टिपेर अध्यक्ष बनाइएको होइन् । म सञ्चालक, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएको हुँ । मैले महासंघमा १५ बर्ष बिताएको छु । मेरो कार्यकालमा आकाशकै फल टिपेर ल्याएर सहकारीलाई दिने महत्वाकांक्षी योजना छैन । मेरो पहिलो प्राथमिकता सहकारीलाई सुशासनमा लैजाने हो । जुन काम हामीले सुरु पनि गरिसकेका छौं । उदेश्य अनुरुप नचलेका ३० वटा संघहरुलाई हामीले खारेज गरिसकेका छौं । अहिले पनि उदेश्य अनुरुप काम नगर्ने र तोकिएको समयमा कानुनी प्रक्रिया नपु¥याउने जिल्ला, प्रदेश र केन्द्रीय संघलाई महासंघले संघको मान्यता दिँदैन ।

संघसंस्थालाई  स्वनियम, सुशासन र पारदर्शिता कायम गर्दै सदस्यको बचतको सुरक्षा दिलाउने काममा म भूमिका खेल्नेछु । सहकारी मूल्य, मान्यता र सिद्धान्तका साथै ऐन नियम अनुसार संस्था सञ्चालन गर्न अभिप्रेरित गर्नेछु । अर्कोतर्फ सहकारीमा एकीकरणलाई प्राथमिकता दिने र सन् २०३० सम्ममा ३१ हजार सहकारीलाई १० हजारमा झार्ने लक्ष्य अगाडि सारेका छौं । यो मेरो प्राथमिकता हुने छ । हाम्रो जस्तै जनसंख्या र क्षेत्रफल भएका देशहरुमा सहकारीको संख्या कम छ । तर हामी कहाँ सहकारीको संख्या धेरै भयो । त्यसलाई एकीकरण मार्पत घटाउने मेरो प्राथमिकता हुनेछ । अन्तराष्ट्रिय सम्बन्धहरुलाई मेरो कार्यकालमा अझ सुदृढ बनाएर लैजानेछु । नेपालको सहकारीलाई आइसिएपीले के सहयोग गर्न सक्छ भनेर विभागीय मन्त्री र सचिव सहितको बैठक जोर्डनमा भएको छ । उहाँहरुले नेपालको सहकारी अभियानलाई सघाउने कुरामा सधै तत्पर रहेको बताउनुभएको छ । 

सहकारी नै नबुझेकाले समस्या आएकाले तल्लो तहका जनतामा सहकारी बुझाउन पहल गर्नेछु । सहकारी ऐनमा भएका व्यवस्था कार्यान्वयन गराउन बजेट विनियोजनका लागि सरकारसँग पहल गर्ने र कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण र बचत तथा कर्जा सुरक्षण कोषका साथै प्रवद्र्धन कोषलाई लागू गर्न मेरो पहल हुनेछ । यी व्यवस्था कार्यान्वयनमा ल्याएर सहकारी क्षेत्रलाई उत्कृष्ट वित्तीय क्षेत्रको रुपमा स्थापित गर्न मेरो पहल हुनेछ । हरेक बर्ष संघीय सरकारसँग मिलेर स्थानीय र प्रदेश सरकारलाई सहकारीको महत्व बुझाउन पनि म लागिपर्छु । सहकारी साँच्चिनै सदस्यहरुको सुख दुख को साथी रहेछ भन्ने भावना विकास गर्न हरदम पहल गर्ने र त्यो कुरालाई सावित गरेर जानेछु ।