शनिबार, आश्विन १७ गते २०८३

चन्द्रागिरि नगरपालिकाले नवजात शिशुको नाममा मुद्दती खाता खोलिदिने


आषाढ २०, २०८१ बिहीबार
चन्द्रागिरि नगरपालिकाले नवजात शिशुको नाममा मुद्दती खाता खोलिदिने

काठमाण्डुको चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंकबीच सम्झौता भएको छ।

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता उक्त बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगरप्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । नगरपालिकाको कार्यविधि अनुसार उक्त नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् र त्यसका लागि जन्मदर्ता अनिवार्य हुनेछ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहक महानुभावहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्ने जनाएको छ ।