नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रमा रहेको समस्याले समग्र अर्थतन्त्रमा असर परेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अधिकारीले अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको र सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने उनले जनाए ।
गभर्नर अधिकारीले भने ‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ, सहकारीहरू बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो, हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौं, तर कार्यान्वयन हुन नसक्दा समस्या आएको हो।’ उनले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्ति सहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको औल्याए ।
उनले खराब कर्जा बढ्नुमा बैंकहरूले राम्राेसँग नियमन नगर्नु पनि कारण रहेकाे उनले जनाए । त्यस सँगसँगै व्यवसायीकाे मनाेबल घटेकाे र आर्थिक गतिविधिमा अपेक्षित रूपमा चलायमान नहुँदा पनि खराब कर्जाकाे दर बढेकाे बताए ।
उनले आर्थिक स्थिरताका लागि राजनीतिक स्थिरता पनि आवश्यक हुने धारणा राखे । ‘अन्य देशमा राजनीतिक स्थिरता भएकोले आर्थिक स्थायित्व हुन सकेको हो, नेपालमा राजनीतिक अस्थिरता हुँदा समस्या देखियो,’ उनले भने ।
नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गरिरहेको बताए । राष्ट्र बैंकले खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेकाले बैंकरलाई दबाब परेकाे उनले जनाए । बैंकको खराब कर्जा ४ प्रतिशत हाराहारीमा पुगिसकेकाे भन्दै उनले खराब कर्जा अझै बढ्न र अर्थतन्त्रमा धेरै असर गर्नसक्ने जनाए ।
नेपालपत्र संवाददाता