नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूलाइ ब्याज छुट गर्ने भएको छ। २०८१ असार मसान्तसम्म कर्जाको साँवाँ तथा ब्याज बुझाउने ग्राहकलाइ त्यस्तो छुट दिइने बैंकले जनाएको छ ।
बैंकले २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख रुपैयाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।
साथै २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको बैंकले जनाएको छ । छुट सम्बन्धी व्यवस्थामा शर्त तथा बन्देजहरू लागु हुने बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिएका छन् ।
नेपालपत्र संवाददाता