बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले सहकारीको ऋण नतिर्ने ब्यक्तिलाई कडा कानुनी कारबाही गर्ने बताएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा शुक्रबार कपनमा आयोजना गरेको ुसहकारीको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजनाु विषयक अन्तरिक्रया कार्यक्रममा बोल्दै उनले मातहतका सहकारीलाई ऋण नतिर्ने ब्यक्ति विरुद्ध नगरपालिकामा औपचारिक उजुरी दर्ता गर्न आग्रह गरे ।
सहकारी संस्थालाई सचेत भएर ऋण लगानी गर्न सुझाव दिँदै उनले भने, ‘सहकारी संस्थाबाट ऋण नपाउन्जेल संचालकसंग लिसो टाँसिए झैं टाँसिने अनि पैसा खल्तीमा परेपछि संस्थाको सम्पर्कबाट गायब हुने प्रवृत्ति छ ।’ यसैगरी सहकारी संस्थाले आफन्तजन र सदस्यहरुलाई अतिविश्वास गरेर कर्जा लगानी नीति पालना नगरी ऋण लगानी गरेकाले पनि असुलीमा समस्या सिर्जना भएको उनको भनाई छ । सहकारीका संचालकले विश्वासमा परेर काका, फुपु लगायतका आफन्तलाई बिना सुरक्षण ऋण लगानी गरेको पाईयो, उनले भने‘ डिस्को, डान्स बार, क्यासिनो लगायतको कुलतमा लागेका मानिसले समेत सहकारीको पैसा अपचलन गरे ।’
हिजो बुद्धी नपुर्याएर कुलतमा लाग्ने अनि आज नगरपालिकामा समस्या बोकेर आएर उन्मुक्ति पाईंदैन, उनले भने,हामी त्यस्ता ब्यक्तिलाई छाड्दैनौं ।’यसैगरी उनले सहकारी ठग्ने एउटा समूह अहिले बिदेशमा लुकेर बसेको खुलासा गर्दै उनीहरुले कानुनी कारबाही बाट छुटाकारा नपाउने विश्वास दिलाए । सहकारी ठग्ने ग्यांग बिदेशमा लुकेर बसेको छ, उनले भने,‘तपाईंहरु उजुरी दिनुस उनीहरु स्वदेश आउने वित्तिकै जेल हाल्न तयार छौं ।’ उनले सहकारी ब्यक्तिको नभई यसमा आवद्ध आम नागरिकको संयुक्त संस्था भएको बताए । हजारौं मानिसलाई रोजगारी दिएको सहकारीले राज्यलाई कर तिर्नुका साथै समाजमा विभिन्न योगदान दिएकाले यस क्षेत्रलाई राज्यले भेदभावरहित ब्यवहार गनुपर्ने उनको भनाई छ ।
ुसहकारीलाई राष्ट्र बैंक मातहत राखेर पेल्न पाईंदैन, केही विभेदकारी नियम बदल्नुपर्छ, उनले भने ‘यसका लागि बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट म, सहकारी समन्वय समिति संयोजक र सहकारी शाखा प्रमुख मन्त्रालयमा डेलिगेसनमा जाँदै छौं ।’ यसैगरी नगर प्रमुख अधिकारीले सहकारीका शेयर सदस्यहरुलाई आफू आवद्ध भएको संस्थाको ब्यवस्थापकीय तथा वित्तीय अवस्था कस्तो छ भनेर नियमितरुपमा जानकारी लिन सुझाव दिए । सदस्यहरुले गाँस काटेर एक(एक रुपैयाँ बचत गरेको सहकारी संस्थालाई बजारमा चलेको नकारात्मक प्रचारले पनि समस्यामा पारेको उनको भनाई छ । सहकारी संस्थालाई जोगाउने मुख्य जिम्मेवारी संचालक समिति, लेखा समिति, ऋण उपसमिति र ब्यवस्थापनको भएको धारणा राखे । सहकारीका संचालक, ब्यवस्थापक र ऋण उपसमितिले ऋण लगानी गर्दा प्रकृया पुरा गर्नुपर्छु उनले भने नभए नगरपालिकाले कारबाही गर्छ । बूढानीलकण्ठ नगरपालिकाले मातहतका सहकारीलाई नियमितरुपमा प्रशिक्षण तथा तालिम दिँदै आएको स्मरण गराए ।
सहकारी हकहित राष्टिय समाजका अध्यक्ष गोविन्द गिरीको सभापत्विमा आयोजित कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराई, वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराई, सहकारी शाखा प्रमुख अच्युत खड्का, बागमती प्रदेश सहकारी संघका संचालक बेदुकाजी घिमिरे, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य दामोदर पौडेल, सहकारी हकहित समाजका निवर्तमान अध्यक्ष अर्जुन खतिवडा, नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का पूर्व अध्यक्ष डिल्ली सापकोटा, सिजेएनका कोषाध्यक्ष माधव खड्का लगायतका अतिथि रहेका थिए । समाजका सचिव ऋषिराम ढकालले संचालन गरेको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं सहकारी विज्ञ गोपीनाथ मैनाली र सहकारी शाखा प्रमुख अच्युत खड्काले प्रशिक्षण दिएका थिए ।
नेपालपत्र संवाददाता