आइतबार, कार्तिक ९ गते २०८३

विद्युतीय माध्यमबाट हुने कारोबारमा वृद्धिले वित्तीय पहुँच बढ्यो

जेठ २१, २०८१ सोमबार
विद्युतीय माध्यमबाट हुने कारोबारमा वृद्धिले वित्तीय पहुँच बढ्यो

 

पछिल्लो समय विद्युतीय वित्तीय कारोबारमा उल्लख्य वृद्धि हुँदै गएको छ । कोभिड १९ को महामारीपछि मुुलुकमा विद्युतीय भुक्तानीका विभिन्न प्लाटफर्मको प्रयोग बढेर गएको देखिएको छ । राष्ट्र बैंक र नेपाल सरकारले लिएको वित्तीय समावेशीकरण नीति साथै इन्टरनेट प्रविधिको विस्तारले विद्युतीय भुक्तानीप्रति प्रयाेगकर्तामा आकर्षण बढेकाे देखिन्छ ।  

राष्ट्र बैंकले गरेको वित्तीय समावेशीकरण सम्बन्धी एक अध्ययन अनुसार २०८० असार मसान्तसम्म डिजिटल वालेट प्रयोगकर्ता सङ्ख्या १ करोड ८९ लाख ४१ हजार ७९३ पुगेको छ । त्यसैगरी मोबाइल बैङ्किङ प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९, इन्टरनेट बैङ्किङ प्रयोगकर्ता १८ लाख ५६ हजार १९५, कनेक्ट आईपिएस प्रयोगकर्ता ११ लाख ८ हजार ४३६ रहेका छन् । 

२०८० असार मसान्तसम्म एटीएम मेशिनको सङ्ख्या ४ हजार ८५५, डेबिट कार्ड लिनेको सङ्ख्या १ करोड ८ लाख ५६ हजार ३ सय ७५ र क्रेडिट कार्ड लिनेको सङ्ख्या २ लाख ३८ हजार ७ सय ९५ पुगेको छ । बैंक तथा वित्तीय संस्थामा  निक्षेप खाता सङ्ख्या ५ करोड ११ लाख ७८ हजार पुगेको र कर्जा खाता सङ्ख्या १८ लाख ४५ हजार नाघेको देखिन्छ । 

बझाङको साइपालबाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजार ५ सय ८९ पुगेको छ । २०८० असारमसान्तमा वाणिज्य बैंकको सङ्ख्या २०, विकास बैंकको सङ्ख्या १७, वित्त कम्पनीको सङ्ख्या १७, लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ५७ र पूर्वाधार बैंक १ गरी कुल संस्था ११२ रहेको देखिन्छ । सोही समयमा, भुक्तानी सेवा सञ्चालक संस्थाको सङ्ख्या १०, भुक्तानी सेवा प्रदायक संस्थाको सङ्ख्या २७, कनेक्ट आईपिएस मा आबद्ध संस्था ११५ र भुक्तानी सेवा प्रदायक संस्थाका एजेन्ट सङ्ख्या १४,१२३ रहेको देखिन्छ ।

वित्तीय पहँुच तथा साक्षरता र वित्तीय समावेशीकरण अभिवृद्धिका नेपाल सरकार, नियामक निकाय तथा अन्य सरोकारवालापक्ष सक्रिय रहेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) बमोजिमका नेपाल राष्ट्र बैंकको उद्देश्यमा र नेपालको पन्ध्रौँ आवधिक योजना (आ.व.२०७६÷७७ – २०८०÷८१) को मौद्रिक तथा वित्तीय क्षेत्रको उद्देश्यमा समेत वित्तीय समावेशीकरणको अभिवृद्धि अपरिहार्य रहेको उल्लेख छ ।